झापा : विभागीय टोली त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आज सम्पन्न क्वाटरफाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी) माथि ३–० गोल अन्तरको जित दर्ता गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीका जितमा सन्तोष तामाङ, जर्जप्रिन्स कार्की र विकास तामाङले गोल गरे । सुरुवातबाटै दबाब बनाएको आर्मीले खेलको १० औ मिनेटमा सन्तोषको गोलबाट अग्रता बनायो । ३५ औ मिनेटमा कप्तान जर्जप्रिन्सले २३ यार्ड टाढाबाट गरेको प्रहार सोझै जाली चुम्दा आर्मीले पहिलो हाफमा २-० को अग्रता बनाउन सफल रह्यो । खेलको ६८ औँ मिनेटमा विकासले गोल गरेपछि ३-० गोल अन्तरको स्पष्ट जितका साथ आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो ।  

त्यसैगरी खेल अवधिमा दुवै टोलीले उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको सुरुवाती १९ औँ मिनेटमा एमएफसीका रोवर्ट खोन्जोले मैदानको मध्य भागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५२ औँ मिनेटमा एमएफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरियो ।

६५ औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरियो । ७८ औँ मिनेटमा एमएफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् । ८६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहार विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए ।

बुधवारको खेलको प्लेयर अफ दि म्याच आर्मीका विकास तामाङ घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । बिहीबारको खेल घरेलु टोली झापा-११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ। उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

army-Man-of-the-match