धरान : नेपालका लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।

प्रेस युनियन केन्द्रीय सचिवालयको आइतबार सम्पन्न बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । युनियनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र अन्य विभिन्न छ समितिसमेत गठन गरेको छ । 

अध्यक्ष सिग्देलले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि जुट्न सम्पूर्ण प्रेस युनियनकर्मीहरुलाई हार्दिक आह्वान गरेका छन्। 

स्थानीय तहको निर्वाचन बैशाख ३० गते भएपछि नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको चुनावी महाधिवेशन हुन लागेको हो। २०७१ सालको भदौमा पोखरामा प्रेस युनियनको चुनावी महाधिवेशन भएपछि अहिलेसम्म अर्को महाधिवेशन हुन सकेको छैन । पटक पटक मिति तय गरे पनि सर्दै आएको छ ।