झापा : बुधवारबाट हुने दमक गोल्डकपको तयारी पूरा भएको छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको हो । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा साबिक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक-११, बागमती यूथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलाकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधवारबाट हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । बुधवार को उद्घाटन खेलमा आयोजक दमक-११ र बागमती युवा क्लब सर्लाहीबिच खेल हुनेछ ।
प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौल गाईले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको उनले बताए । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने अध्यक्ष चम्लागाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।