सुनसरी : इटहरीमा सुपरसिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ। आयोजक मारवाडी युवा मञ्च इटहरीले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । चैत्र १२ गते शनिवार इटहरी ९ स्थित प्रस्तावित जनता क्रिकेट पार्कमा हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ टिम सहभागी हुने मञ्चका सदस्य निशान्त खेडियाले जानकारी दिए। 
खेलका माध्यमबाट सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागेको सुपर सिक्स क्रिकेट प्रतियोगितामा दर्शकलाई समेत पुरस्कृत गरिने भएको छ । प्रतियोगिता हेर्न आउने दर्शकहरू मध्येबाट भाग्यशाली एक जना दर्शकलाई नगद ५ हजारले पुरस्कृत गरिने प्रतियोगिता संयोजक निशान्त खेडियाले बताए । 
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको प्रतियोगितामा मारवाडी समुदायका मात्र खेलाडी सहभागी रहने जनाइएको छ । आगामी दिनमा अझै ठुला प्रतियोगिताहरूको आयोजना समेत गर्ने लक्ष्य सहित सुपरसिक्स क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराउँदै प्रतियोगिता सकिएपछि इटहरीका केही विद्यालयमा किशोरीहरूका लागि सेनेटरी प्याड वितरण गर्ने जनाइएको छ । प्रतियोगिता जिल्ला क्रिकेट सङ्घ सुनसरीको प्रबिधिक सहयोगमा गरिने बताइएको छ ।