धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत्र १५ गते देखि स्वास्थ्य बिमाबाट दिने स्वास्थ्य सेवा रोक्ने भनेकोमा थप एक महिना नरोक्ने भएको छ । बिमाबाट स्वास्थ्य सेवा सुचारु रहने जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आज एक प्रेस विज्ञप्ति जारी गरी प्रतिष्ठानले विधिवत् रूपमा दाबी प्रक्रिया पूरा गरेको रकम समेत मिति २०७८ मङ्सिर १६ पश्चात् हालसम्म कुनै शोधभर्ना रकम प्राप्त नभएको र अस्पताल सञ्चालनको मुख्य श्रोतको रूपमा रहेको दैनिक आम्दानीको ठुलो हिस्सा महिनौँ सम्म प्राप्त नहुनाले अस्पताल सञ्चालनमा कठिनाइ आएको हुँदा बाध्यतावश बिमाबाट सेवा दिन नसक्ने सूचना जारी गरिएको जनाइएको छ । 

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश सरकार एवं स्थानीय सरकारबाट आवश्यक समन्वय गरी प्रतिष्ठान सञ्चालनमा सहयोगका लागि अनुरोध गर्दै उपचारका लागि आउने बिरामीको स्वास्थ्य उपचार सेवामा आगामी एक महिनासम्म कुनै पनि प्रकारको बाधा अवरोध सृजना हुन नदिई सुचारु हुने विज्ञप्तिमा उल्लेख छ । उपकुलपति गिरीले सबैलाई आ–आफ्नो स्थानबाट यथाशीघ्र प्रतिष्ठानको समस्या समाधानका लागि सहयोग गरिदिन अपिल पनि गरेका छन् । 

प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमको विषयलाई लिएर केही दिन देखि विभिन्न सञ्चार माध्यममा प्रेस विज्ञप्ति मार्फत गरिएको टिका टिप्पणी प्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७४ साल देखि नियमित रूपमा प्रतिष्ठानमा सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको र सो बापतको रकम बिमा बोर्डले भुक्तानी नदिएकोले प्रतिष्ठान सञ्चालन गर्न नै समस्या भएको भन्दै केही दिन अघि प्रतिष्ठानले सूचना जारी गरेको थियो । त्यस पछि स्थानीय सरकार र स्थानिय प्रशासनले प्रतिष्ठानमै पुगेर स्वास्थ्य बिमाबाट दिइने सेवा नरोक्न प्रतिष्ठानलाई आग्रह गरेको थियो । त्यो सँगै विभिन्न राजनीतिक दल र सङ्घ संस्थाले विज्ञप्ति जारी गरी प्रतिष्ठानको निर्णयको विरोध गरेका थिए ।

BP-Bigyapti