धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा गरेकाहरूलाई उपचार बन्द गर्नुको कारण भनी स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायलाई देखाएको समस्याहरू झुटो र भ्रम फैल्याउने भएको बिमा बोर्डले बताएको छ । 

नेपाली काँग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डलमा काठमाडौँ गएका धरानका मेयर तिलक राईको नेतृत्वमा बिहीबार स्वास्थ्य बिमा बोर्डका निर्देशक सहित अधिकारीहरू बिच भएको छलफलमा उक्त जानकारी दिइएको मेयर राईले बताएका छन् ।

विमितहरुको स्वास्थ्य सेवा बन्द गर्ने भनी चैत ९ गते वीपीले प्रकाशित गरेको सूचनाले धरानवासीमा फैलिएको भ्रमबारे छलफल गर्न बिमा बोर्डका पदाधिकारीहरू सोमवार धरान आउने भएका छन् । स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल सहित सर्वपक्षीय उपस्थितिमा बिमा बोर्डले धरानमै छलफल गर्ने भएको हो ।   

प्रतिनिधि मण्डलको टोली, स्वास्थ्य सेवा विभाग स्थित स्वास्थ्य बिमा बोर्डको कार्यालयमै पुगेर वीपीले बिमाका बारेमा देखाएका समस्याहरूका बारेमा छलफल गरेको मेयर राईले बताए । छलफलमा बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बर्तौला, उपसचिव बाबुराम खनाल, वरिष्ठ स्वास्थ्य अधिकृत शम्भुप्रसाद ज्ञवाली, शाखा अधिकृत शोभित रिजाल संलग्न थिए । प्रतिनिधि मण्डलबाट मेयर तिलक राई, काँग्रेस नगर सभापति श्याम पोखरेल, सुनसरी क्षेत्र 'क' सभापति अनिल श्रेष्ठ, क्षेत्र ख सभापति मुरारी भट्टराई सहभागी थिए। यसअघि वीपीको सूचनाले धरानमा बिरामीहरू आतङ्कित भएपछि मेयर राई, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखले वीपीका निमित्त अस्पताल प्रमुख सहित सम्बन्धित अधिकारीहरुसंग छलफल गरेको थियो ।

उक्त छलफलमा वीपीका अधिकारीहरूले बिमा बोर्डले बिमा रकम निकासा नगरेको, बिमा रकम दाबीको मुल्याङन ढिलाइ गरेको, दाबी गरिएको दररेट घटाउने गरेको सहित १८ बुँदे समस्या देखाएका थिए । बिमा बोर्डले २०० रुपैयाँको ओपिडी कार्डको ५० रुपैयाँ मुल्याङकन गरेको, बिमित बिरामी दर्ता वीपीमा ८ बजे हुने तर बोर्डमा १० बजेपछि मात्र हुने समस्या देखाएको थियो ।

तर बिमा बोर्ड सँगको छलफलमा बिमा रकम निकासामा कुनै किसिमको ढिलाइ नभएको, बिमा दाबी रकममा कुनै कटौती नगरिएको बताइएको छ । बिमा बोर्डले बिरामी दर्ता चौबिसै घण्टा खुला हुने व्यवस्था गरेको बताएको तर वीपीले भ्रामक कुरा किन गरेको भनी प्रश्न गरिएको मेयरलाईले बताए । उनले भने ‘यी सबै कुराको छलफल सोमवार बिमा बोर्डले धरानमै आएर गर्ने भएको छ ।’

Bima-Bhuktani