धरान : नेपाली काँग्रेसले सुनसरी क्षेत्र नं. १ ले गत फागुन १ गतेदेखि सञ्चालन गरेको पार्टी सङ्गठन सशक्तीकरण र सुदृढीकरण अभियान धरानमा सम्पन्न भएको छ । आज धरानको वडा नं. १ र २ मा कार्यक्रम भएसँगै धरानको २० सै वडामा अभियान सम्पन्न भएको हो । 
अभियान अन्तर्गत भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति सुजेन्द्र तामाङले काँग्रेसको तल्लो तहसम्मको सङ्गठनलाई क्षमता अभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरूलाई कार्यकर्ता र जनताको भावना बमोजिम सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रम गर्न उत्प्रेरित गर्दै समग्र पार्टी सङ्गठनलाई सशक्तीकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।
कार्यक्रममा सहभागीहरूले सङ्गठन सशक्तीकरण र सुदृढीकरण अभियानले पार्टी सञ्चालन र सङ्गठन विस्तारमा महत्त्वपूर्ण टेवा पुगेको बताएका छन् । उनीहरूले यस्ता अभियान र प्रशिक्षण कार्यक्रम नियमित रूपले सञ्चालन गरिनु पर्नेमा जोड दिँदै क्षेत्रीय समितिले अति नै सान्दर्भिक, समयसापेक्ष र अत्यावश्यक कार्यक्रम गरेको बताए । पार्टीमा विकृति, विसङ्गति, डनवाद र धनवाद हाबी भएको भन्दै अब शुद्धीकरण अभियान समेत चाल्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । 
धरान १ मा भएको कार्यक्रममा महासमिति सदस्य श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि विकास आचार्य, जिल्ला सदस्य विनोद घिमिरे, राष्ट्रियसभा सदस्यका प्रत्याशी तथा पूर्वा महाधिवेशन प्रतिनिधि मिना पुलामी, क्षेत्रीय सदस्य अतुल श्रेष्ठ, वडा अध्यक्ष रोशन अधिकारी, वडा सभापति द्वारिका आचार्य, क्रियाशील सदस्य लक्ष्मण थापा लगायतले विचार राखेका थिए ।
त्यसैगरी धरान २ मा भएको कार्यक्रममा महासमिति सदस्य तथा धरान २ का लागि खटिएका जिल्ला प्रतिनिधि श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि विकास आचार्य, क्षेत्रीय सदस्य धर्म तामाङ, स्कुल अफ डेमोक्रेसीका प्रदेश नं. १ का सभापति प्रा. विशाल श्रेष्ठ, वडा सभापति सुधीरसिंह लिम्बु, वडा उपसभापति रमेश राई लगायतले विचार राखेका थिए । सो अवसरमा वडा सभापति लिम्बुले क्षेत्रीय सभापति तामाङ र जिल्ला प्रतिनिधि रेग्मीलाई वडाको प्रतिवेदन समेत बुझाएका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र क्षेत्रीय सहसचिव सुमित राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य रिता सुन्दास, क्षेत्रीय सदस्यहरू लोकमणि शर्मा, विनोद मानन्धर, नवीन रेग्मी, विवेक प्रसाईँ, बुना शङ्कर, प्रदेश सम्मेलन सदस्यद्धय कुसुम ओली र रोशन रेग्मी लगायतको उपस्थिति रहेको थियो । 
congress-tol-tol