धरान : आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सुनसरीका ४४ वटा मतदान स्थल अति संवेदनशील क्षेत्र मानिएको छ । 

सुनसरीका १ सय ६६ वटा मतदान स्थल मध्ये ४४ वटा मतदान स्थल अति संवेदनशील, ८० वटा संवेदनशील र ४२ वटा कम संवेदनशील मतदान स्थल भनेर तोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । मतदान स्थलमा सुरक्षाका लागि अति संवेदनशील मतदान स्थलमा तीन घेरामा सुरक्षा गरिने एसपी थापाले बताए ।

अति संवेदनशील मतदान स्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिनेछ । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट समेत खटिनेछन् । 

मतदान स्थलहरूको अनुगमन सुरु

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा मतदान स्थलहरूको अनुगमन सुरु भएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारी अनुसार आज सुनसरीको कोशी, भोक्राहा नरसिंह लगायतको दक्षिणी क्षेत्रको मतदान स्थलहरूको अनुगमन गरिएको छ । अनुगमन टोलीमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका प्रमुख र जिल्ला निर्वाचन अधिकारीको संयुक्त टोली रहेका छन् ।  

यसै बिच निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ पनि जारी गरेको छ ।

निर्देशिकामा विभिन्न प्रकारका सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्मको सुरक्षाको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।