धरान  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश एक सरकारमा धरानले चाँडै मन्त्री पाउने बताएका छन्।
नेता कोइरालाले धरान-१५ स्थित चुम्लुङ भवनमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ कार्यसमितिले मंगलबार आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन। 
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले स्थानीय नेता कार्यकर्तालाई सक्रियता पूर्वक रूपमा लागेर स्थानीय तहमा निर्वाचित गराउनका लागि आजदेखि नै होमिन आग्रह गरे । 
प्रशिक्षण कार्यक्रममा करिब ३ सयको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसले धरानमा आउँदै गरेको स्थानीय तहको चुनावलाई लक्षित गरेर वडा वडामा गएर टोल समिति विस्तार गर्ने अभियान तीव्र बनाएको छ। 
सङ्घीय सांसद मिना सुब्बा, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, काँग्रेस प्रदेश नं. एकका महामन्त्री उमेश थापा, काँग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारी, जिल्ला सचिव माधव घिसिङ, सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, सुनसरी क्षेत्र नं. १ (१) र (२) का सभापति अनिल श्रेष्ठ र मुरारी भट्टराई, महासमिति सदस्य एवं धरानका मेयर तिलक राई र नगर सभापति श्याम पोख्रेल लगायत नेताहरू कार्यक्रममा सम्बोधन गरेका थिए।