झापा : जति जति स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै छ त्यति त्यति नै दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मुख्यतः सत्ता गठबन्धनमा रहेका दलले नेकपा एमालेसँग भिड्नलाई चुनावी गठबन्धन पनि गरेका छन् । 
तर झापामा भने सत्तारुढ दलहरूले आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने गरी छलफल प्रारम्भ गरे पनि यस पटक चुनावी गठबन्धन गर्दा भागबण्डा मिलाउन भने निकै सकस देखिने भएको छ। झापाको १५ पालिकामा गठबन्धन दलहरूले भागबण्डा कसरी गर्ने भनेर पालिका तहको सर्वेक्षण गरिरहेको बुझिएको छ । स्थानीय तहमा कार्यकर्ताको भावना समेत सम्बोधन हुने गरी गठबन्धनमा आबद्ध दलहरू भागवण्डा गर्ने तयारीमा जुटेका छन् । 
काँग्रेस झापाका सभापति देउमान थेबेका अनुसार गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जपासहितको पहिलो चरणको छलफल सकिएको छ । पहिलो चरणको औपचारिक छलफलले चुनावी रणनीति पनि बनाई रहेको छ । नेपाली काँग्रेसले केन्द्रबाटै भागवण्डाको सवालमा मापदण्ड तयार गरेको थेवेको भनाई छ । उनले ०७४ को मत भारका अनुसार नै उम्मेदवारी हुने स्पष्ट पारेका छन्। 
स्थानीय तहको पहिलो निर्वाचनमा झापामा नेपाली काँग्रेस दोस्रो भएको थियो । माओवादी केन्द्र चौथो भएको थियो । अघिल्लो निर्वाचनमा काँग्रेसले मेचीनगर, बुद्धशान्ति, बाह्रदशी, गौरादह र झापा गाउँपालिका जितेको थियो । काँग्रेसले ति पालिका नछोड्ने गरी छलफल सुरु गरेको छ। 
यता झापामा संरचनागत सुधार भएको दाबी गर्दै आएको नेकपा माओवादी केन्द्रले जिल्लाको मुख्य राजनीतिक शक्ति केन्द्र मानिने मेचीनगर, बिर्तामोड र दमकमध्ये एकसहित दुई गाउँपालिकाको प्रमुखमा दाबी गर्ने बुझिएको छ । माओवादीले बिर्तामोडमा सशक्त दाबी गरिरहेको छ । यस्तै, नेकपा माओवादी केन्द्रका बिर्तामोड इन्चार्ज युवराज दाहालले केन्द्रको निर्देशन अनुसार नै गठबन्धन गरेर उम्मेदवारी तय गरिने जानकारी दिए । 
उनले जिल्लामा ४० देखि ५० प्रतिशत माओवादीको दाबी रहने बताए । दाहालले मेचीनगर, भद्रपुर, हल्दिवारी, गौरीगञ्ज, झापा गाउँपालिका, बुद्धशान्ति, बिर्तामोड र दमक माओवादीको सङ्गठन धेरै बलियो रहेको दाबी गरे । उनले सोही आधारमा आफूहरूको दाबी कायम रहने बताए । 
यस्तै एमालेबाट छुट्टिएको माधव नेपाल समूह (नेकपा समाजवादी)ले गठबन्धनभित्रको छलफलमा दाबी प्रस्तुत गरिरहेको छ । १५ पालिकामा बहुमत जितेको एमालेबाट कोही पनि समाजवादीमा नगएका कारण समाजवादीको दाबी प्रमुख–उपप्रमुखमा राख्ने कुरा जायज नहुने गठबन्धनभित्र चर्चा भइरहेको बुझिएको छ । 
नेकपा समाजवादीले जिल्लाका ३ पालिकामा मेयर, ५ वटा उपमेयर, ४५ वडामा वडाध्यक्ष र सबै वडामा १-१ सदस्य हुनुपर्ने दाबी गर्दै आएको छ । २ पालिकामा मेयर पाए ६ पालिकामा उपमेयर नछोड्ने नेकपा समाजवादीका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए । समाजवादीले अर्जुनधारा, शिवसताक्षी र भद्रपुरमा मेयर दाबी गर्ने बुझिएको छ।