धरान : इलाका प्रहरी कार्यालय धरानमा भर्खरै काज सरुवा भएर आएका डिएसपी बुद्ध श्रेष्ठले धरानमा आफू निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
आज इलाका प्रहरी कार्यालय धरानमा धरानका राजनीतिक दलका प्रतिनिधिहरुसंगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले आफू कुनै जाति, धर्म र राजनीतिक दलको पक्षमा नरही निष्पक्ष भएर काम गर्ने बताए । कसैलाई काखा र कसैलाई पाखा गरेर काम नगर्ने दाबी समेत गरे ।
भोजपुरको ट्याम्के मैयुङ निवासी श्रेष्ठ हाल सुनसरीको पकलीमा बसोबास गर्दै आएको बताउँदै उनले पूर्वमा धरानमा यो प्रहरी प्रमुखको रुपमा दोस्रो जिम्मेवारी भएको बताए । नेपाल प्रहरीको स्पेसल फोर्समा कार्यरत श्रेष्ठ गएको बिहीबार इलाका प्रहरी कार्यालय धरान आइपुगेका हुन् । उनले यसभन्दा अघि मोरङको पथरीको इलाका प्रहरी कार्यालयमा सफलतापूर्वक कार्यसम्पादन गरिसकेको बताउँदै यहाँ पनि सबैले साथ सहयोग गरे अझ राम्रोसँग कार्य सम्पादन गर्ने बताए । 
परिचयात्मक कार्यक्रममा धरानको शान्ति सुरक्षाको वारेमा धरानका राजनीतिक दलहरूले आ-आफ्नो कुरा राखेका थिए । उनीहरूले धरान उपमहानगरपालिका भएपछि भौगोलिक हिसाबमा सुरक्षा चुनौती पनि बढेको बताए । प्रहरीको सुरक्षा गस्ती सहर केन्द्रित मात्रै भएकोले सहर बाहिर पनि प्रहरीले शान्ति सुरक्षा कायम गर्नुपर्ने राजनीतिक दलका प्रतिनिधिहरूले सुझाव दिए । धरानका केही प्रहरी पोस्टमा कार्यरत प्रहरी प्रमुखहरूले गलत काम गरिरहेको भन्दै त्यस्ता प्रहरी कर्मचारीहरू तर्फ पनि प्रहरी प्रमुखको ध्यान जानुपर्ने सुझाव दिइएको थियो । 
कार्यक्रममा राजनीतिक दलहरूबाट उठेका सुझाव र प्रश्नहरूको उत्तर दिँदै डिएसपी श्रेष्ठले आफू निष्पक्ष र प्रहरीको आचारसंहिता अनुरुप प्रतिबद्ध भएर काम गर्ने बताए । धरानमा पछिल्लो समय बढ्दै गएको विकृति र विसङ्गतिलाई नियन्त्रण गर्न सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई सहयोग गर्न आग्रह समेत गरे । 
इलाका प्रहरी कार्यालय धरानमा एक साताको अन्तरमा डिएसपी नरेन्द्र कुँवरलाई काज सरुवा र प्रहरी निरीक्षक हेमराज ओलीलाई सरुवा भएका थिए ।