सुनसरी : सुनसरीको झुम्का कारागारमा कैदी बन्दी समूहबिच झडप भएको छ। झडपमा २५ जना कैदी घाइते भएका छन् । आज दिउसो कारागारको 'बी ब्लक'मा रहेका कैदी बन्दी समूह बिच झडप हुँदा घाइते भएका २५ जना कैदीमध्ये ५ जनालाई गम्भीर चोट लागेकाले अस्पताल भर्ना गरिएको कारागारका जेलर प्रदीप शाहले बताए। 
कारागारको चौकीदार को बन्ने भन्ने विषयमा विवाद हुँदा दुई समूहबिच झडप भएको बताइएको छ। झडपमा परी गम्भीर चोट लागेका ५ जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको र बाँकी २० जनाको कारागारमै स्वास्थ्यकर्मी झिकाएर उपचार गरिएको जेलर शाहले बताए। 
झुम्का कारागारको बी ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र ए ब्लकका जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार पक्राउ गरी रातारात अन्यत्र सरुवा गरेपछि दुई दिनयता कारागार अशान्त बनेको हो । 
राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनीहरूलाई बिना कारण रातारात अन्यत्र सरुवा गरेको भन्दै सोही रात पनि कारागारमा कैदीबन्दीहरुले प्रदर्शन गरेका थिए । सरुवा भएर अन्यत्र सारिएका दुई चौकीदारको ठाउँमा नयाँ चौकीदार कसलाई बनाउने भन्नेमा विवाद हुँदा झडप भएको र अवस्था सामान्य बनाउने पहल भइरहेको जेलर शाहले जानकारी दिए।