धरान : गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले प्रदान गर्दै आएको वीर गोर्खा पत्रकारिता पुरस्कार यसपालि पत्रकार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई प्रदान गरिने घोषणा गरिएको छ । साथै गोर्खा नव प्रतिभा पत्रकारिता पत्रकार पारस राईलाई प्रदान गरिने भएको छ ।

वीर गोर्खा पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। सुब्बा र सुबेदीलाई नगद २५/२५ हजार रूपमा प्रदान गरिने छ । गोर्खा नव प्रतिभा पुरस्कारको राशि २० हजार रुपैयाँ छ । गोर्खा कम्पनीको धरान–१८ रत्नचौक स्थित कार्यालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक प्रेमकुमार राईले पुरस्कृत पत्रकारहरूको नाम घोषणा गरेका हुन्।

अग्रज महिला पत्रकार निलिफा बेलायती गोर्खा सेनाका लागि युकेबाट प्रसारण हुने वीएसबीएफ रेडियोमा आबद्ध छिन् । पत्रकार सुवेदी कान्तिपुर टेलिभिजनमा सुनसरीका टिभी रिपोर्टर हुन् । पारस राई विजयपुर एफएममा आबद्ध छन् । गोर्खा सैनिक भर्ती, पूर्व गोर्खाहरूबाट आर्थिक सामाजिक जीवनमा पारेको प्रभावका बारे रिपोर्टिङ गर्दै आएका पत्रकारहरूलाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ।

नेपाल प्रेस युनियनको सहकार्यमा पुरस्कृत पत्रकारहरूको चयन गरिएको कम्पनी सञ्चालक राईले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार युनियनका धरान नगर सभापति मातृका प्रसाद नेपाल, नेपाल पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राई, पत्रकार हर्ष सुब्बाले चयन प्रक्रियामा सहयोग गर्दै आएका छन् ।

यसअघि वीर गोर्खा पुरस्कार पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । नव प्रतिभा पुरस्कार सञ्चिता धमलाले प्राप्त गरेकी थिइन् । यसपालिको पुरस्कार साउन महिनामा कम्पनीमा तालिम लिईरहेका उत्कृष्ट प्रशिक्षार्थीहरू घोषणा र पुरस्कार वितरण समारोहमा प्रदान गरिने बताइएको छ । 

उक्त अवसरमा महासङ्घका सभापति जनकऋषि राईले पुरस्कारले मुलुकको आर्थिक सामाजिक विकाशमा गोर्खा सैनिकको योगदानलाई पत्रकारिताको विधा बनाउन सघाउ पुर्‍याएको बताए । पत्रकार हर्ष सुब्बाले नेपालको आर्थिक गतिविधिमा रेमीट्यान्सको महत्त्वपूर्ण भूमिका रहँदै आएकाले पुरस्कारको विषयगत दायरा गोर्खा सैनिकका साथै पूर्वको आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक रोजगारीको योगदान सम्म बढाउन आग्रह गरे ।