धरान : धरान उपमहानगरपालिकाको २८ मतदान स्थल मध्ये सुरक्षाको दृष्टिकोणले १ अति संवेदनशील १३ वटा संवेदनशील र १४ वटा सामान्यमा वर्गीकरण गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले दिएको जानकारी अनुसार धरानमा २८ मतदान स्थल र १ सय ७ मतदान केन्द्र मध्ये धरान-५ को हिमाली मावि देउराली मतदान स्थललाई अति संवेदनशील भनिएको छ । यसैगरी धरानका अरु १३ वटा मतदानस्थलहरु संवेदनशीलमा वर्गीकरण गरिएको छ । 

विगतको सुरक्षा चुनौती, सीमावर्ती क्षेत्र, राजनीतिक दलहरूको अन्तर्विरोध, अन्तर्द्वन्द्व, अस्वस्थ प्रतिस्पर्धा, सामाजिक परिवेश, सामाजिक उत्तरदायित्व र चेतनाको स्तरको आधारमा सुरक्षाको हिसाबमा अतिसंवेदनशिल, संवेदनशील र सामान्य मतदान स्थल भनेर वर्गीकरण गरिएको प्रहरी प्रमुख एसपी थापाले बताए । 

सुनसरी जिल्लामा १ सय ६६ वटा मतदान स्थल मध्ये ४४ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ४२ वटा सामान्यमा वर्गीकरण गरेर सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएको छ । 

इटहरी उपमहानगरपालिकाको २५ मतदान स्थल मध्ये १७ संवेदनशील, ८ सामान्य, इनरुवा नगरपालिकाको १९ मतदान स्थल मध्ये ४ अति संवेदनशील, ६ संवेदनशील र ९ सामान्यमा वर्गीकरण गरिएको छ । 

कोसी गाउँपालिकाको ९ मतदान स्थल रहेकोमा सबै संवेदनशील, गढी गाउँपालिकाको ९ मतदान स्थल मध्ये १ अतिसंवेदनशिल, ८ संवेदनशील, दुहबी नगरपालिकाको १२ मतदान स्थल मध्ये ३ अतिसंवेदनशिल, ५ संवेदनशील र ४ सामान्य, देवानगञ्ज गाउँपालिकाको ७ वटा मतदान स्थल रहेकोमा सबै संवेदनशीलमा वर्गीकरण गरिएको छ । 

वराहक्षेत्र नगरपालिकाको १६ मतदान स्थल मध्ये १२ संवेदनशील, ४ सामान्य, बर्जू गाउँपालिकाको १० वटा मतदान स्थल मध्ये सबै मतदान स्थल नै संवेदनशील, भोक्राहानरसिंह गाउँपालिकाको १० वटा मतदान स्थल रहेकोमा सबै अति संवेदनशीलमा वर्गीकरण गरिएको छ । 

रामधुनी नगरपालिकाको १२ वटा मतदान स्थल रहेकोमा ९ संवेदनशील, ३ सामान्य र हरीनगर गाउँपालिकाको ९ वटा मतदान स्थल रहेकोमा सबै अतिसंवेदनशिलमा वर्गीकरण गरिएको छ । 

सुरक्षाको हिसाबले वर्गीकरण गरिएको अतिसंवेदनशिल मतदान स्थलमा अवस्था हेरेर सुरक्षाकर्मी परिचालन हुने एसपी थापाले बताए । उनका अनुसार मतदान स्थलहरूमा तीन घेरामा सुरक्षाकर्मी खटिनेछन् । पहिलो घेरामा जनपथ प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।