इटहरी : नेपाली काँग्रेसका मोरङ जिल्ला उपसभापति नागेश कोइराला विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार भएका छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा कोइरालाले टिकट पाएका हुन् । उपमेयर जनता समाजवादीको भागमा परेपछि मेयरमा काँग्रेसले कोइरालालाई उम्मेदवार बनाएको हो ।
डाक्टर शेखर कोइराला निकट मानिएका नागेश विराटनगरका प्रभावशाली नेता हुन् । काँग्रेस भित्र लामो समयको रस्साकस्सी पछि सोमबार विहानमात्र उम्मेदवार तय भएको छ। सभापति शेरबहादुर देउवाले आफू निकट अमृत अर्याल, डाक्टर डिला सङ्ग्रौला र भीम प्रसाद पराजुली मध्ये एकलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । तर कोइराला समूहले नागेशको नाममा जोड दिएपछि उम्मेदवारी छनौट गर्ने समय लम्बिएको थियो । 
नेकपा एमालेले आइतबार नै महानगर अध्यक्ष सागर थापालाई मेयरको उम्मेदवार बनाएको छ । गठबन्धन र एमालेका दुवै युवा उम्मेदवार भएकाले विराटनगरको चुनावलाई रोचक रूपमा हेरिएको छ।