धरान : चुनाव र चुनावी माहौलले सानो र सुन्दर गाउँमा आन्तरिक तिक्तता पैदा गरेको भन्दै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका स्थानीयले वडाध्यक्ष सहितका ५ जनप्रतिनिधि बिना प्रतिस्पर्धा चयन भएका छन् । 

गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक सो वडामा अरू कोही पनि व्यक्तिले उम्मेदवारी दिएनन् । आवश्यक सङ्ख्यामा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि त्यहाँका जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष सरोज एभेङ वडा नं ७ ओलाङ्चुङगोलाबाट ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएको र त्यो आवश्यक सङ्ख्या मात्र रहेको बताए । निर्वाचन अधिकृत राजकुमार दाहालले सो वडामा आवश्यक पदमा १–१ जनाको उम्मेदवारी परेको तर सबै प्रक्रिया पूरा भएपछि मात्र घोषणा गर्न मिल्ने बताए । 

गाउँले भेलाले नै स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्ने र चुनाव नगर्ने सहमति गरेको थियो । गाउँलेहरूको आम भेलाले छेतेन वालुङ वडाध्यक्ष टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा बिपना तुम्बाहाम्फे विकलाई वडा समितिको उम्मेदवारमा चयन गरिएको थियो ।

वडाध्यक्ष चयन भएका छेतेन २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए । उति बेला अहिलेका सर्वसम्मत वडाध्यक्ष बनेका छेतेनले एमालेबाट र यसअघिका वडाध्यक्ष छेतेन भोटे शेर्पाले काँग्रेसबाट प्रतिस्पर्धा गरेका थिए । याङ्मा र गोला गरी दुई वटा बस्ती रहेको ओलाङचुङगोलमा ३ सय ३६ मतदाता रहेका छन् । सर्वसम्मत वडाध्यक्ष छेतेन एमाले समर्थक थिए । उनी यसअघि फक्ताङ्लुङ गाउँपालिकाको प्रवक्ता समेत थिए ।