दमक : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज दमक नगरपालिकामा नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेदवाहरुले एकसाथ आज दिउँसो मनोनयन दर्ता गराएका हुन ।

गठबन्धनबाट नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र उपप्रमुखमा नेपाली काङ्ग्रेसकी रेगिना भट्टराई प्रसाईँले उम्मेदवारी दर्ता गराएका हुन । गठबन्धनबाट वडा नम्बर १ मा तारा अधिकारी, २ मा रुद्र कार्की, ३ मा डिल्ली चापागाईँ, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा यामजी श्रेष्ठ, ७ मा भीम पौडेल, ८ मा प्रकाश चापागाईँ, ९ मा नगेन्द्र घोर्षाईं र १० मा राजेन्द्र भण्डारीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । वडा नम्बर १ का अधिकारी र ७ का पौडेल यस अघि पनि वडा अध्यक्ष रहेका थिए । उनीहरू दुवै जना राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका हुन । त्यस्तै वडा नम्बर २, ६, ८ र ९ मा माओवादी केन्द्र साथै वडा नम्बर ३, ४, ५ र १० मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता भएको हो । 

गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराउँदै नगर प्रमुखका उम्मेदवार राम थापाले नगरको नेतृत्वमा रहेर नगरवासीको सेवा गर्ने आफ्नो चाहन पुरा हुने अवस्थामा पुगेको बताए । आफूहरूको गठबन्धनमा सबै दल, बिचार, समुदायको प्रतिनिधित्व रहेकोले समग्र दमकको विकासका लागी यो टिम नै विजयी हुने बताए । त्यसै गरी उप प्रमुखकी उम्मेदवार रेगिना भट्टराई प्रसाईँले पनि नगरका प्रमुख दलहरूको गठबन्धन रहेकाले आफूहरूको विजय निश्चित भएको बताइन ।