धरान : ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । 

आयोगले सार्वजनिक गरेको नमुना मतपत्रमा कसरी मतदान गर्ने भन्नेबारे राम्रोसँग जानकारी दिन सकिएन भने अधिकांश मतदाताहरूले सहीरुपमा मतदान गर्न नसक्ने खालको छ । 

यस पटकको स्थानीय तह निर्वाचनका लागि हरियो रङको मतपत्रमा कालो रङको निर्वाचन चिन्ह हुने भएको छ । 

सबैभन्दा माथिका ६ वटा लहरमा राष्ट्रिय पार्टीको निर्वाचन चिन्ह हुनेछन् । त्यसपछि जिल्लामा सक्रिय अन्य दलको चिन्ह राखिएको छ । त्यसपछि मात्रै स्वतन्त्र उम्मेदवारलाई दिइने चिन्हको लहर राखिएको छ । आयोगले शनिवार ७७ वटै जिल्लाको मतपत्रको नमुना पनि सार्वजनिक गरिसकेको छ । हरेक जिल्लाको मतपत्र फरक रहेको छ । स्थानीय निर्वाचन प्रयोजनका लागि जिल्लागत रूपमा दर्ता भएका दलको सङ्ख्याका आधारमा मतपत्रको आकार ठुलो वा सानो हुनेछ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रलाई हेर्ने हो भने यस पटक बदर मत बढ्न सक्ने डा. राजेन्द्र शर्मा बताउँछन् । एक्लै चुनाव लड्ने पार्टीमा खासै बदर नहोला तर गठबन्धन गरेका दलहरूलाई क्रस भोटिङ गर्नुपर्ने हुँदा अधिकांश मत बदर हुन सक्ने शर्माको भनाई छ । 

बदर मतदान हुन नदिनका लागि यस पटक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम समुदाय स्तरमा सञ्चालन गरेन । यसबारेमा राजनीतिक दलहरुलेनै मतदाताहरूलाई मतदान गर्ने बारेमा जानकारी दिने गरी घरदैलो अभियानमै कार्यक्रम गर्नुपर्ने शर्माको सुझाव छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार मतदाता शिक्षा कार्यक्रमका लागि निर्वाचन आयोगले रकम नपठाएको र जिल्ला भर निर्वाचनको प्रचार प्रसार प्रसार गर्न १० हजार रुपैयाँ मात्रै रकम पठाएको इटहरीमा आयोजित एक कार्यक्रममा बताएका थिए । 

विगतका निर्वाचनहरूमा मतदाता शिक्षा कार्यक्रम धेरै हुने गर्दथे तर यस पटक पहिले नै मतदान गरिसकेका मतदाताहरूका लागि खासै समस्या नभए पनि नयाँ थपिएका मतदाताहरू भने पहिलो पटक मतदान गर्दा अलमलिने पक्का छ ।