विराटनगर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस आफूले धोका खाए पनि अरूलाई धोका नदिने बताएका छन् । 

नेपाली काँग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले यो पटक काँग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गरेको बताए । 

“यसअघि पनि नागेश मेयरको आकाङ्क्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिन्न,” देउवाले भने, “तर, यस पटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । नागेश सहित गठबन्धनका उम्मेदवारले अत्यधिक मतले जित्नेछन् ।” देउवाले गठबन्धनमा इमानदार भएर मतदान गर्न आग्रह गर्दै काँग्रेसले प्रतिबद्धता जनाए पछि कसैलाई पनि धोका नदिने गरेको जिकिर गरे । 

देउवाले नागेश र गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव दुवै जना युवा भएकाले विराटनगरवासीले चाहेअनुसार नै विकास हुने बताए । देउवाले भने, “दुवै जना युवा हुनुहुन्छ, दुवै जना पढेलेखेका र विराटनगरका लागि केही गरौँ भन्ने सोच छ उहाँहरूमा । त्यसो भएकाले उहाँहरूलाई भोट माग्न म तपाईँहरूको माझ आएको हुँ ।

नेकपा एमालेको दम्भ र घमन्डलाई परास्त गर्न कांग्रेसहितका गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा उनको जोड थियो । सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । त्यस्तै नेता डा. शेखर कोइरालाले आगामी प्रदेश र सङ्घको चुनावलाई ध्यानमा राखेर स्थानीय तहमा काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिए । “स्थानीय तहमा काँग्रेसले जितेन भने आगामी प्रदेश र सङ्घको चुनाव जित्न निकै गाह्रो हुन्छ,” कोइरालाले भने, “त्यसो हुनाले विराटनगर मात्रै नभएर देशभर काँग्रेसलाई जिताउने अभियानमा लाग्न म सबैलाई आग्रह गर्दछु ।”

त्यस्तै सभामा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर काँग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताए । “एमाले र काँग्रेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाईँ रोज्न सक्नुहुन्छ” उनले भने, “एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, काँग्रेसको घोषणापत्रमा तपाईँले आफूलाई देख्नुहुन्छ, तपाईँको आमा उभिएको देख्नुहुन्छ, भाइ, बहिनी वा बाबा उभिएको देख्नुहुन्छ ।” 

एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माले भने । काँग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताए । त्यस्तै नेता महेश आचार्य, डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला, अमृत अर्याल, भीम पराजुली, मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बू, विराटनगरका मेयरका उम्मेदवार नागेश कोइराला, उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए ।