धरान : धरान-१० का विवेक राई नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार वनेका छन् । युवा उम्मेदवार राईले धरानमा रात्रिकालीन बजारको मागलाई पुरा गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका छन् । धरानको माग र आवश्यकतालाई मध्यनजर गर्दै उनले धरान-१० स्थित पुतली लाइनलाई नाइट मार्केट सञ्चालन गर्ने भनेर चुनावी घोषणा पत्रमा प्रतिबद्धता व्यक्त गरेका छन्। 

धरानमा अत्यन्तै आवश्यकतालाई मध्यनजर गर्दै सबै शान्ति सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रशासनसँग समन्वय गरी नाइट मार्केट सञ्चालन गर्ने राईले बताए । उनले भने,“शान्ति सुरक्षाको मुख्य चुनौती हो, त्यसको प्रबन्ध गर्ने छु, वडाको हरेक स्थानमा सिसी क्यामेरा जडान र प्रहरी प्रशासनसँग समन्वय गरी म नाइट मार्केट सञ्चालन गर्नेछु। ”त्यसको पूर्व तयारीको लागि धरान स्थित पुतली लाइनका व्यापारीहरूसँग बिहीबार व्यापार व्यवसाय सञ्चालन गर्नेहरूसँग पहिलो चरणको छलफल समेत गरेका छन् ।

उनको त्यस्तो योजना सुनेर त्यहाँका व्यवसायीहरू उत्साहित समेत वनेका छन् ।धरानमा नाइट मार्केट सञ्चालन गर्नको लागि यस अघि देखि नै माग हुँदै आए पनि कार्यान्वयन हुन सकेको छैन । धरान १५ स्थित वगरकोटलाई सो अवधारणा अनुसार सञ्चालन गर्ने पहिलो स्थानीय तहको चुनावमा विभिन्न दलका राजनीतिक पाटीहरूले चुनावी प्रतिबद्धता गरे पनि पुरा हुन सकेको छैन । 

को हुन विवेक राई ?

विवेक राई आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर १० बाट वडाध्यक्षका युवा उम्मेदवार हुन् । युवा सङ्घको राजनीतिबाट आएका उनी हाल नेकपा एमाले-१० नम्बर वडा कमिटीका अध्यक्ष समेत छन् । उनले २०६१ सालमा युवा सङ्घको वडा सदस्यबाट राईले आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका थिए। 

राजनीति सहित वडाका युवाहरूलाई सङ्गठित गर्दै हाल एमाले पार्टीबाट उम्मेदवार बनेर थप वडाको विकासमा गरी नमुना वडा बनाउन लागि पर्ने बताउँछन् । वडामा मात्रै नभएर धरानमा नै उनी लोकप्रिय युवाको रूपमा परिचय बनाएका छन् । युवा सङ्घ राजनीतिबाट उनी वडाबाट धरानको राजनीतिमा उदाएका युवा उम्मेदवारको रूपमा राई पर्छन् । उनी वडामा लोकप्रिय छन्। 

राजनीति,खेलकुद, सामाजिक काम लगायत सबै क्षेत्रमा उनी परिचित छन्। युवाहरूलाई सङ्गठित र एकत्रित पार्दै स्वास्थ्य व्यायाम, फुटबल खेलाडीलाई सहयोग लगायतको काम गरेर उनी युवाहरू माझ लोकप्रिय छन्। कोरोनाको सङ्क्रमणकालीन अवस्थामा औषधी उपचार लगायत मास्क स्यानिटाइजर वडावासीको घर घरमा गएर सेवा गरेका थिए । उनले वडाको विकास गर्न यसअघिका जनप्रतिनिधिले गरेका अधुरा कामहरूलाई निरन्तरता दिने र थप योजना बनाएका छन् ।