धरान : लोकतान्त्रिक बाम गठबन्धनको अन्तिम चुनावी सभामा प्रमुख वक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धरान उपमहानगरपालिकाको चुनाव गठबन्धनले जितिसकेको उद्घोष गरेका छन्। भानुचौकमा आज मङ्गलवार आयोजित आमसभामा उनले धरानमा गठबन्धनका उम्मेदवारहरूले चुनाव जितिसकेको छ भनेर मैले घोषणा गर्दा हुन्छ कि हुन्न भनी सभातर्फ प्रश्न गर्दै भने ‘धरानमा करिब करिब गठबन्धनले चुनाव जितिसकेको छ।’
'अब धरानको विकासको जिम्मा कसैले लिनु पर्दैन' भन्दै मन्त्री कार्कीले यसअघि धरानमा नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेलाई जिताउनुस् ‘धरानको विकासको जिम्मा म लिन्छु’ भनी बताएको कुराप्रति कटाक्ष गर्दै भने ‘धरानको विकासको जिम्मा अब किशोर राई र आइन्द्र विक्रम बेघाले लिन्छ ।’ गठबन्धनबाट मेयर, उपमेयरद्वयले सभामा गरेको प्रतिबद्धतालाई इमानदारी पूर्वक कार्यान्वयन गर्न आग्रह गर्दै धरानको विकास त्यसैबाट सम्भव भएको उनले बताए ।
दुई तिहाइ बहुमत पाएर पनि गफ बाहेक केही गर्न नसकी आफ्नो सरकार आफै ढालेका पूर्व प्रधानमन्त्री ओलीको पार्टी एमालेले यसपालि स्थानीय तहको चुनावमा राष्ट्रिय सभाको चुनावमा भोग्नु परेको हविगतकै परिणाम भोग्नु पर्ने उनले बताए । उनले भने ‘गठबन्धनले राष्ट्रिय सभाको २१ सिटमा २० सिट जितेर एमालेलाई १ सिटमा सीमित गरिदिएको अवस्था जस्तै स्थितिमा पुर्‍याउन जनता लागेका छन् ।’
यसपालिको स्थानीय निर्वाचनमा ५ दलिए सत्ता गठबन्धनले नेपालका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मेयर र उपमेयरमा अनिवार्य गठबन्धन गर्न निर्देशनात्मक परिपत्र गरेपछि धरानमा गठबन्धनलाई सघाउन जसपाले दिएको उम्मेदवारी निष्क्रिय गरिएको हो । अन्य नगरपालिकाहरूमा पनि गठबन्धन गरिएकाले गठबन्धनको उम्मेदवारहरू सँग एमालेले एक्ले प्रतिस्पर्धा गरिरहेको अवस्था छ।
दुई तिहाइ बहुमत लिएर सत्तामा गएको ओली सरकारले मुलुकलाई श्रीलङ्काको बाटोमा लगेको आरोप लगाउँदै मन्त्री कार्कीले मुलुकलाई टाट पल्टनबाट जोगाउन पाँच दलिए गठबन्धन बनेको बताए । सत्ता गठबन्धन बनेपछि बल्ल नेपाल सहीबाटमा अघि बढेको उनको उनको भनाई थियो । श्रीलङ्कामा अहिले उपभोग्य वस्तु किन्न सकिन्न, मुलुक टाट पल्टको अवस्थामा छ, पाइन्न, बालबालिकाहरू परीक्षा दिन नपाएर घरैमा बस्न बाध्य छन् भन्दै उनले भने ‘ओली अहिले सम्म सत्तामा रहेको भए नेपाल पनि त्यस्तै अवस्थामा पुगिसकेको हुन्थ्यो।’
दुई तिहाइ सहित ओली सत्तामा आउन अघि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको समय र ओली प्रधानमन्त्री भएपछिको आर्थिक तथ्याङ्कले उक्त कुराको पुष्टि गर्ने मन्त्री कार्कीले दाबी गरे । उनका अनुसार देउवा प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक वृद्धिदर ८ दशमलव ६ थियो । ओलीको कार्यकालमा त्यो ४ प्रतिशतमा झरेको थियो । 
देउवाको कार्यकालमा विकाश खर्च २४ दशमलव ९ प्रतिशत खर्च भएको थियो । ओली प्रधानमन्त्री हुँदा विकाश खर्च १९ दशमलव २० प्रतिशतमा झर्‍यो । उनका अनुसार चार वर्षअघि देउवाको कार्यकालमा वैदेशिक ऋणको भार केवल ६ अर्ब थियो । ओली प्रधानमन्त्री भएपछि त्यो ऋणभार १० खर्ब २० अर्बमा बढेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री कार्कीले भने ‘ओली सरकारले मुलुकलाई अधोगतिमा पुर्‍याएको अवस्थालाई गठबन्धनको सरकार बनेपछि सुधारको बाटोमा ल्याउन काम भइरहेको छ ।’       
सभामा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईले धरानको विकासका लागि गठबन्धनको मार्गचित्र सहितको प्रतिबद्धताहरू बुँदागत रूपमा प्रस्तुत गरेका थिए । उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाले गठबन्धनको विजयलाई अब एमालेले रोक्न नसक्ने बताए । जनता समाजवादीको नगर अध्यक्ष ताजुब लिम्बुले स्वागत भाषण गरेको सभामा काँग्रेसका नगर सभापति श्याम पोखरेलले धरानको चुनावमा गठबन्धनका उम्मेदवारहरूको राजनीतिक परिचय प्रस्तुत गरेका थिए।