धरान  : धरानमा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सम्पन्न गरेको छ। धरान उपमहानगरपालिका वडा नं. १८ मा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सोमबार भव्य रूपमा सम्पन्न भएको हो । उक्त वडाका वडावासीहरूले गठबन्धनका मेयरका प्रत्याशी किशोर राई, उपमेयरका प्रत्याशी अईन्द्र विक्रम बेघा, सोही वडाका अध्यक्षका प्रत्याशी नरेन्द्र कुमार राई (प्रवीण)सहितको टिमलाई भव्य रूपमा स्वागत गरेका थिए ।
पञ्चे बाजा सहितको घर दैलो अभियानमा थुप्रै नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो । १८ नं. वडाका वडाध्यक्ष पदका उम्मेदवार राई ०७४ सालको निर्वाचित वडाध्यक्ष पनि हुन् । राईको नेतृत्व धरानको सबैभन्दा उत्कृष्ट कार्य सम्पादन गर्ने वडामा पर्छन् । राईले घर दैलो अभियानको क्रममा वडाका विकास र समृद्धिका लागि र बाँकी रहेका कामहरू पुरा गर्न आफ्नो नेतृत्वको टिम पुनः उम्मेदवार बनेर बनेर आएको बताए । 
राई वडाध्यक्षले प्राप्त गर्ने सेवा सुविधा आफूले नलिई वडाको विकासको लागि खर्च गर्ने, व्यक्तिगत खर्चमा वडा भरी शान्ति सुरक्षा व्यवस्थापन गर्न सिसी क्यामेरा जडान, वडालाई धुलो मुक्त बनाउन सफल वडाध्यक्षको रूपमा परिचित छन् । राईको नेतृत्वमा बाल अधिकार सम्बन्धी सम्पूर्ण सूचक पुरा गरी बालमैत्री वडा घोषणा, वडावासीहरूलाई स्वास्थ्य राख्न दैनिक व्यायाम गर्न सजिलो होस् भन्ने उद्देश्यले धरानमै पहिलो पटक खुल्ला व्यायामशाला र पूर्वाञ्चलमै पहिलो पटक स्केट बोर्ड एरिया निर्माण, आर्थिक विपन्न परिवार भएकाहरूलाई स्वास्थ्य बिमा, बालबालिका तथा वृद्धवृद्धाहरुको लागि वार्षिक रूपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना लगायतका विभिन्न कार्यहरू गरेका थिए । वडाध्यक्षका प्रत्याशी राईले आफ्नो सम्पूर्ण सेवा सुविधा वडा र वडावासीको लागि खर्च गर्ने बताउँदै वृद्ध भत्ता, एकल महिला भत्ता र अन्य भत्ताहरू वडाबाट नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 
घर दैलो अभियानको क्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार राई र उप-मेयर पदका उम्मेदवार बेघाले जनताका आवश्यकताहरूलाई बुझेर आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मेयर पदका उम्मेदवार राईले उपमहानगरपालिका भ्रष्टचारमूक्त बनाउने, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, पर्यटन र सरकारी जग्गाको संरक्षण गर्दै सकुम्बासी समस्याको निराकरण गर्न आफूहरू लागि पर्ने बताए । 
Prabin-Rai-dharan-18