धरान : सुनसरीमा स्थानीय तह निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रका अनुसार जिल्लाका केही मतदानस्थलहरूमा सामान्य विवादहरु भएको भए पनि तत्कालै मिलाइएको र मतदानमा कुनै अवरोध खडा भएन। 

सुनसरी जिल्लामा कुल मतदाताहरूको सङ्ख्या अनुसार ६५ देखि ७० प्रतिशत मात्रै मतदान भएको प्रारम्भिक अनुमान जिल्ला निर्वाचन कार्यालयले गरेको छ । यो समाचार तयार पार्दा सम्म सुनसरी जिल्लाको विभिन्न पालिकाहरूमा मतपेटिका सङ्कलन गरेर निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाउने कार्य धमाधम भइरहेको छ। यता धरानमा सबै मतदान स्थलबाट मतपेटिका सङ्कलन भइसकेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । आज सबै मतपेटिका सङ्कलन गरिसकेर भोलि शनिवार बिहान ८ बजे देखि मतगणना सुरु गर्ने बताइएको छ ।

धरानमा ४ जना पक्राउ 

धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न भए पनि केही मतदान स्थलहरूबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। धरान-१३ स्थित लोटस बोर्डिङ स्कुलको मतदान केन्द्रबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सुजन केसी, राजकुमार राई र अर्जुन राई रहेका छन् । 

उनीहरूले मतदान स्थलमा आएर मादक पदार्थ सेवन गरी झैझगडा गरेको पाईएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । 

यसैगरी धरान-५ देउरालीबाट पनि एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाबुको नाममा मतदान गर्न पुगेका निरज विकलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।  यी घटना बाहेक धरानमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।  

धरान ५ र ६ नम्बर वडामा विवाद

धरान-६ पानवारीमा बिहान ९ बजे मतदान स्थलमा विवाद भएको थियो । निर्वाचन आयोगबाटै खटिएको कर्मचारीले एक पक्षीय रूपमा उम्मेद्धवारलाई सहयोग गरेको भन्दै त्यहाँ विवाद भएको थियो भने आधा घण्टा मतदान नै अवरुद्ध भएको थियो ।

स्वतन्त्र तर्फका उम्मेदवार भूपेन्द्र भट्टराईका समर्थित युवाहरूलाई निर्वाचनमा खटिएका सहायक मतदान अधिकृत हिरा बहादुर खत्रीले सहयोग गरेको भन्दै अन्य दलका उम्मेद्धवारहरुले विरोध जनाएपछि मतदान अवरुद्ध भएको थियो । खत्रीलाई सचेत गराएर मतदान प्रक्रिया सुचारु गरिएको सहायक मतदान अधिकृत गणेश खतिवडाले बताए ।

बिहीबार राती स्वतन्त्र तर्फका उम्मेदवार भूपेन्द्र भट्टराईले वितरण गर्दै गरेको टिसर्ट बरामद गरी प्रहरीलाई बुझाएको भए पनि प्रहरीले नै छोडेको थियो । यसैगरी मध्यान्ह १२ बजे धरान-५  को हिमाली माविको मतदान केन्द्रमा पनि विवाद भएको थियो ।