धरान : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गते भित्रमा मतगणना सक्ने निर्वाचन आयोगको लक्ष्य रहेकोले धरानमा पनि मत गणक सङ्ख्या दोब्बर बनाएर मत गणना तीव्र गतिमा गर्न निर्देशन दिएका छन् । 

मतगणनाको अनुगमन गर्न धरान आइपुगेका  प्रमुख निर्वाचन आयुक्त थपलियाले जेठ ५ गते राति १२ बजेबाट २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूको पदावधि सकिने भएकोले पनि जेठ ५ गते सम्ममा मतगणना सकिनुपर्ने बताए।  

मोरङको रंगेलीमा मतगणना स्थगित भएको बारेमा बुझ्न आउनेक्रममा विराटनगर, इटहरी, सुन्दरहरैचा हुँदै धरानको मतगणना स्थलको अनुगमन तथा निरीक्षणको क्रममा थपलिया धरान आइपुगेका हुन् । 

देशैभर मतगणना अत्यन्तै सुस्त गतिमा भइरहेको जनगुनासो आएको र यसमा निर्वाचन आयोगको पनि ध्यानाकर्षण भएको बताउँदै जनताको चाहाना अनुसार चाडै मतगणना सम्पन्न गर्नका लागि निर्वाचन आयोग लागि परेको बताए । 

उनले धरानमा पनि मतगणना सुस्त भएको बताउँदै अहिले ४ स्थानबाट भइरहेको मतगणना दोब्बर बनाएर छरितो र छिटो परिणाम आउने गरी मतगणना गर्न धरानका निर्वाचन अधिकृतलाई निर्देशन समेत दिए ।  निर्वाचन आयोगले देशैभर छिटो मत गणना गर्ने गरी तयारी गरिरहेको बताउँदै थपलियाले भने– जेठ ५ गते मत गणना सकेर नयाँ निर्वाचित जनप्रतिनिधिहरूलाई पदस्थापन गर्न आफू आतुर रहेको पनि बताए ।