इटहरी : नेपाली काँग्रेसको तर्फबाट सुन्दरहरैँचाको मेयरका उम्मेदवारको पछिल्लो मत परिणाममा पछाडि परेका छन्। यसअघि काँग्रेस एक्लै प्रतिस्पर्धामा हुँदा मेयर निर्वाचित भएका शिव प्रसाद ढकाल यस पटक माओवादी सँगको गठबन्धनमा समेत कमजोर बनेका हुन् । 
काँग्रेसको प्रभावशाली वडाबाटै कमजोर मत परिणाम आएपछि उनी झस्किएका छन् । नगर सभापति भक्ति प्रसाद सिटौला र मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङले अन्तरघात गरेको उनको आरोप छ।
मुख्यतः वडा नम्बर ९ र १० नेकपा एमालेको प्रभावशाली वडा हो। जसले ढकाललाई स्वाभाविक कमजोर बनायो। सुरुवाती अग्रता लिएका उनलाई वडा नम्बर ३, ५ र ७ को मतगणनाले पछि पार्‍यो । यसअघि काँग्रेसका वडाध्यक्ष सहित मेयरमा पनि बढी मत दिएका तिनै वडाले ढकाललाई सहयोग गर्न सकेन। 
वडा नम्बर ३ क्षेत्रीय सभापति तामाङको बसोबास रहेको वडा हो । जहाँ उनले आफ्नै टिमका केन्द्रदिप पोखरेललाई टिकट दिए । यसअघिका वडाध्यक्ष जीवन ढुङ्गानाको प्रभाव बलियो भए पनि टिम नमिलेको कारण उनले टिकट पाएनन् । जसको प्रभाव मेयरको मतमा पर्‍यो। 
५ नम्बर वडा तामाङको पुरानो बसोबास रहेको वडा हो । तामाङको प्रभाव क्षेत्र मानिएको ५ नम्बरमा मेयर ढकाल कमजोर बने । वडा नम्बर ७ नगर सभापति भक्ति प्रसाद सिटौलाको वडा हो । तामाङ र सिटौला दुवै मेयरका आकाङ्क्षी हुन । सिटौलाले नगरबाट ढकालको नाम काटेर आफ्नो मात्र नाम सिफारिस गरेका थिए । पछि जिल्लाबाट ढकालको नाम थप भएपछि उनले टिकट पाएका हुन् । ढकालले टिकट पाएपछि पार्टी कार्यबहाकको जिम्मेवारी दिएर निष्क्रिय बसे सिटौला । त्यति मात्र वडामा समेत बागी उम्मेदवार सिटौलाले नै उठाएको काँग्रेस वृत्तमा चर्चा भएको छ ।  
तामाङले टिकट दिएका निवर्तमान वडाध्यक्ष चैतन्य प्रसाद सिटौलाका विरुद्ध भुवन सिंह मगरलाई नगर सभापतिले उकासेको गुनासो छ । मगरले यसअघि नै वडाध्यक्ष दाबी गरेका थिए । नगर सभापतिको जिम्मेवारीबाट पछि हटेका उनले मगरको पक्षमा वकालत गरे । जसले वडामा पार्टीको मत कमजोर बनेको थियो । त्यही मतले आफू पराजित भएको ढकालको बुझाई छ । 
उनले सामाजिक सञ्जालबाटै तामाङ र सिटौलाले असहयोग गरेको बताएका छन् । ‘नेपाली काँग्रेस मोरङ ६ का क्षेत्रीय सभापति देवु तामाङ र नगर सभापति भक्ति सिटौलाको असली अनुहार सुन्दरहरैंचा मा कसले चिन्नु भा छ ? स्थानीय निर्वाचनमा वहाँहरूको भूमिका कस्तो रह्यो जान्ने इच्छा छ । अरू नाम सिलसिलेवार आउँछ,’ उनले लेखेका छन् ।