इटहरी : नेपाली काँग्रेस मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङले सुन्दरहरैचाको मेयर पदमा दाबेदारी प्रस्तुत गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित टोल समिति गठन कार्यक्रममा आफू सुन्दरहरैचाको मेयरमा उम्मेदवारी दिन तयार भएको बताएका हुन् ।

सुन्दरहरैचा-५ बलिया चोकका आयोजना गरिएको टोल समिति गठन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीमा टिकट दाबी गर्ने योजना रहेको सुनाए । पार्टीका कार्यकर्ताले आगामी रणनीतिबारे प्रश्न गर्न थालेपछि आफू जवाफ दिन बाध्य भएको उनको भनाई छ । 

यसअघि मोरङ ८ का क्षेत्रीय सभापति भएका तामाङ राज्य पुनः संरचना भएपछि क्षेत्र नम्बर ६ (क) को सभापति भएका थिए । उनी १४ औँ अधिवेशनमा मोरङ ६ को सभापतिमा निर्वाचित भएका हुन् ।

कोइराला प्यानलका उनी मेयरको लागी लबिङमा लागेका छन् । उता हालका मेयर शिवप्रसाद ढकाल पनि चुनावी तयारीमा छन् । ढकालले नेकपा एमालेका उम्मेदवार केदार गुरागाईँलाई पराजित गर्दै विजयी भएका थिए ।