इटहरी : सोमबार बिहान मानव बस्तीमा फेला परेको चितुवा नियन्त्रणमा लिइएको छ। इटहरी-६ का मनोहर कार्कीको घरमा पसेको चितुवा नियन्त्रणमा लिइएको हो । 
बिहान ३ बजे बस्तीमा भेटिएको चितुवा हल्लाखल्ला पछि घरमा पसेको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काका अनुसार वन्यजन्तु विज्ञको टोलीले चितुवा नियन्त्रणमा लिएको हो । 
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा प्रदेशका वन्यजन्तु विज्ञ पुरुषोत्तम पाण्डे र कोसी टप्पु वन्यजन्तु आरक्षको टोलीले चितुवा नियन्त्रणमा लिएको उनको भनाइ छ । बिहानै देखि त्रासमा रहेको जुटबिकास अब सामान्य अवस्थामा फर्किएको उनले बताए । 
नियन्त्रणमा लिइएको चितुवा जिल्ला वन कार्यालयको जिम्मा लगाइएको र औषधी उपचार पछि पुनः जङ्गलमा छाडिने उनले जानकारी दिए ।