इटहरी : प्रदेश १ सरकारले संवैधानिक व्यवस्था अनुसार आज बजेट ल्याउँदै छ । सङ्घीय सरकारले जेठ १५ गते बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सरकारले यसअघि नीति तथा कार्यक्रम ल्याएर छलफल सकेको छ । कृषि र पूर्वाधारमा केन्द्रित नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने भएका छन् । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब माथिको बजेट ल्याउने तयारी थालेको छ । दिउसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा मन्त्री इन्द्रबहादुर आङवोले संसद्मा बजेट पेस गर्नेछन् ।

चालू आर्थिक वर्षको भन्दा २० प्रतिशतले बजेटको आकार बढ्न लागेको आङ्बोले बताए । चालू आर्थिक वर्षको ३२ अर्ब ४६ करोडको बजेटमा यसपटक २० प्रतिशत बढ्दा प्रदेश १ को आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३८ अर्ब ९० करोड हाराहारी पुग्ने देखिन्छ ।