इटहरी : प्रदेश एक जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि विराटनगरको मोतीराम स्पोर्टिङ्ग क्लबले जितेको छ । 

इटहरी रङ्गशालामा बुधवार सम्पन्न फाइनल खेलमा धनकुटाको देउराली फुटबल क्लब माथि २–१ को सङ्घर्षपूर्ण जित निकाल्दै मोतीरामले उपाधि जितेको हो । उपाधिसँगै मोतीरामले नगद २ लाख र उपविजेता बनेको देउराली फुटबल क्लबले एक लाख रुपैयाँमा चित्त बुझाएको छ ।

धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल खेलेको मोतीराम स्पोर्टिङ्ग क्लबलाई उपाधि जिताउन दिवाकर चौधरी र उमेश कार्कीले एक एक गोल गरे । देउरालीको तर्फबाट सञ्जय रम्तेलले एक गोल गरे । खेलको १८ औँ मिनेटमा सञ्जयको गोलबाट अग्रता लिएको देउरालीले त्यो अग्रता जोगाउन नसक्दा पराजित बन्यो । पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै मोतीरामको तर्फबाट दोस्रो हाफको १५ औँ मिनेटमा दिवाकर चौधरीले एक गोल गरेर खेललाई बराबरीमा पुर्‍याए । दोस्रो हाफमा थप आक्रमण बनेको मोतीरामको तर्फबाट थपिएको ४ मिनेटको अतिरिक्त समयमा उमेश कार्कीले गरेको निर्णायक गोल नै मोतीरामलाई उपाधि जिताउन पर्याप्त बन्यो । 

प्रतियोगितामा मोतीरामका उमेश कार्की उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा मोतीरामका सुशील राई म्यानअफद फाइनल, किशोर गिरी उत्कृष्ट गोलकिपर र पारस चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । देउरालीका पदम भट्टराई  उत्कृष्ट डिफेन्स, मनकुमार रार्ई उत्कृष्ट मिडफिल्डर, बिरेन लिम्बु उत्कृष्ट फरवार्ड र सञ्जय रम्तेल हाईस्कोरर घोषित भए । उनीहरू सबैले जनही ३ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाए । 

गायिका ज्योति मगरको संगितिक प्रस्तुति समेत रहेको प्रतियोगिताको विजेता तथा उपविजेता टिमहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश एक खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्ले, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राई लगायतले पुरस्कार वितरण गरे । जेठ २६ गतेदेखि सुरु भएको लिगमा प्रदेश एकका एघार जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूको सहभागिता रहेको थियो । 

Pradesh-Leek-1