धरान : विराटनगरको मोतीराम फुटबल क्लब प्रदेश एक जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटबल क्लबको संयोजनमा जारी प्रतियोगितामा मोतीरामले धरान फुटबल क्लबमाथि २–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो । 

इटहरी रङ्गशालामा भएको सोमबारको पहिलो सेमिफाइनलमा मोतीरामलाई उपाधि होडमा पुर्‍याउन उमेश कार्की र अभिषेक लिम्बुले एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । कार्कीले ५८ औँ र लिम्बुले ५९ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनलाई इटहरी उपमहानगरपालिका वार्ड नं ९ का वडाध्यक्ष जितेन थापाले २ हजार एक सय र मेडल प्रदान गरे । 

आजको अन्तिम सेमिफाइनल खेल धनकुटाको देउराली फुटबल क्लब र झापाको शनिश्चरे फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश एकका एघार जिल्लाका क्लबहरू सहभागी छन् । ती सबै क्लब जिल्ला लिग च्याम्पियन हुँदै प्रदेश लिगमा सहभागी हुन पाएका हुन । असार १ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले नगद २ लाख पुरस्कार पाउँदा उपविजेताले नगद १ लाख रुपैयाँ पाउने इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले बताए ।