धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजित श्रेष्ठले लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् । 
आइतबार हुने उम्मेदवारी मनोनयनमा लोकतान्त्रिक प्यानलबाट उनको नाम सर्वसम्मत भएको हो । यसअघि श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटा सँग पराजित भएका थिए । निर्माण व्यवसायी मार्फत धरानमा स्थापित भएका उनी स्वच्छ छविका उम्मेदवारको रूपमा चिनिन्छन् । 
उवासंघ सदस्य हुँदै उद्योग सचिव, महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभव सँगालेका उनी अध्यक्ष भएर सफल कार्यकाल चलाउने योजनामा छन् । पुरानो धरानवासी भएको र इमान्दार छवि भएका कारण पनि उनको उम्मेदवारी बलियो देखिएको छ । 
धरानको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायीक चहलपहललाई पुनर्जीवन दिने उनले बताए । आफू विजयी भएमा विगतमा नेतृत्वबाट भएका गल्तीलाई सच्याउने र नयाँ योजनाको साथ काम गर्ने उनले प्रस्ट पारे । 
धरानको पुरानो आकर्षणलाई पुनः त्यही अवस्थामा ल्याउन नयाँ व्यवसायीक योजना, नीति तथा अफरको आवश्यकता परेको श्रेष्ठको बुझाई छ। परम्परागत व्यापारव्यवसायमा आधुनिकता भरेर धरानलाई व्यापारिक पर्यटकीय सहरको रूपमा विकाश गर्ने उनको योजना छ । 
२० गते हुने निर्वाचनको लागि जम्मा २९७७ मतदाता मध्ये सबैभन्दा बढी वाणिज्य तर्फ १८५८ छन । त्यसपछि उद्योग तर्फ १००३, एसोसिएट तर्फ ९८ र वस्तुगत तर्फ १८ रहेका छन् ।