इटहरी : उद्योग वाणिज्य सङ्घ सुनसरीको निर्वाचनले धरानको माहौल गर्माएको छ । दुई प्यानलमा हुने गरेको निर्वाचनमा पवन अग्रवालको उम्मेदवारीले बहस सृजना गरेको हो। पूर्व अध्यक्ष समेत रहेका अग्रवालको मनोनयनले अन्य दुई उम्मेदवारको जोड घटाउमा प्रभाव पार्ने आङ्कलन गर्न थालिएको छ । 
औषधी व्यवसाय मार्फत ख्याति कमाएका अग्रवाल धरानका पुराना स्थानीय हुन् । २०५० साल देखी सुनसरी उद्योग वाणिज्य सङ्घमा लागेका उनी २ पटक सदस्य पदमै पराजित भए । प्रत्येक २ वर्षमा अधिवेशन हुने प्रावधान भएका बेला २०५६ मा उनी सदस्य निर्वाचित भए । त्यस लगत्तै २०५८ मा सदस्य निर्वाचित भएर उपाध्यक्षमा चयन भएको बताउँछन् । तत्कालीन अध्यक्ष खगेन्द्र श्रेष्ठलाई पूर्ण कार्यसमितिले निष्कासित गरेपछि अग्रवाल कार्यवाहक अध्यक्ष भए । कार्यवाहक अध्यक्ष भएकै बेला २०६० सालमा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । 
त्यस बेला व्यवसायीक हक हितको लागि काम गरेर संस्थालाई व्यवसायीक र बलियो बनाएको उनी स्मरण गर्छन् । ऋणमा भएको संस्थालाई ब्यालेन्समा ल्याउन भवन निर्माणको काम गरेको उनले सुनाए । अहिले पनि धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले आफू नेतृत्व गर्ने तयारीमा रहेको प्रस्ट पारे । पछिल्ला कार्यसमितिले काम गर्न नसकेको भन्दै उनले अहिले उवासंघ सुनसरी ट्र्याक देखी बाहिर गएको बताएका छन् । 
“उद्योग वाणिज्य क्षेत्रको समस्या धेरै भएकाले म उम्मेदवार हुन लागेको हुँ । व्यवसायीको मर्म र भावना अनुसार काम गर्न नै मेरो जिम्मेवारी भित्र पर्छ । सङ्कटमा परेको उद्योग वाणिज्य सङ्घलाई उद्धार गर्न मैले उम्मेदवारी दिएको हुँ ।, उनले भने, “अहिले व्यवसायीको कुरा कसैले सुनेको देखिँदैन । व्यवसायीले पिडा पोख्ने ठाउँ भएन । आर्थिक मेरुदण्डको रूपमा रहेको यस क्षेत्रमा प्रभावकारी र पहुँचवाला नेतृत्व हुन सकेन ।”
चुनाव निक्कै खर्चिलो बनाउनु र तडक भडक गर्नु भनेको निजी संस्थालाई निजी स्वार्थको केन्द्रमा राख्नु रहेको उनले बताए । धरानको बजार इटहरी, विराटनगर सर्न थालेको बताउँदै उनले यसको नियन्त्रण गर्न कसरी सकिन्छ भन्ने बारे सोच्ने बेला भएको उल्लेख गरे ।
“भन्सार देखी सरकार सम्म व्यवसायीका आवाज पुर्‍याउन नसक्ने नेतृत्व भएपछि समस्या ज्युँका त्युँ भएका हुन् । धरान पहिला पुर्णत व्यापारिक केन्द्र थियो । अहिले व्यापार खस्किँदै गएको प्रस्ट छ । अब पुरानो अवस्थामा फर्काउन पनि सकिँदैन । त्यसको लागि नयाँ पहिचान दिएर काम गर्नुपर्छ ।,” उनले भने, “पहाड सम्म सडक पुग्यो । जोगवानी र खाँदवारिको सिधा सम्पर्क भएपछि धरान ओझेलमा परेको हो । यसबारे हामीले बुझ्नुपर्छ । नयाँ बाटोमा हामी लाग्नुपर्छ । त्यसमा पर्यटन मार्फत हामीले नयाँपन दिन सक्छौ । व्यवसायीलाई हतोत्साहित गर्ने हैन ऊर्जा भर्ने नेतृत्व चाहिएको छ । त्यो म हुँ ।”