धरान : धरान-९ स्थित टप युनिभर्सल एकेडेमीको खेल सप्ताह सुरु भएको छ। गत मङ्गलवारबाट सुरु भएको खेल सप्ताह अन्तर्गत मिनी म्याराथन दौड र भलिबल खेल सम्पन्न भएको छ।
शुक्रवार भएको मिनी म्याराथनमा पुरुषतर्फ विज्ञान विषयको ब्रिज कोर्ष गरिरहेका विद्यार्थी साइतो लिम्बु प्रथम भएका थिए । यस्तै करुण श्रेष्ठ दोस्रो र सञ्जय तामाङ तेस्रो भएका थिए । महिलातर्फ स्टाफ नर्सिङकालागी तयारी कक्षा गरिरहेका छात्रा प्राश्ना श्रेष्ठ प्रथम भइन । यसैगरी आरती यादव दोस्रो र कृष्मसा राई तेस्रो बनिन् । एकेडेमीको कार्यालयबाट सुरु भएको म्याराथन भानुचोक हुँदै छाताचोक, सिंहदेवी लाइन, पुरानो बजारबाट माछाभौडी हुँदै पुनः भानुचोकबाट एकेडेमीको कार्यालयमा आएर सम्पन्न भएको थियो । दौडमा एकेडेमीमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थी सहभागी थिए ।
दौड सुरु हुनु भन्दा अगाडी विद्यार्थीहरूलाई ट्राफिक प्रहरी सहायक निरीक्षक नारद प्रसाद दाहालले ट्राफिक सचेतनाका बारेमा जानकारी गराएका थिए । भर्खरै एसइई दिएर ब्रिज कोर्ष गरिरहेका विद्यार्थी भएकाले विशेष गरी लाइसेन्स र मोटरसाइकल चलाउँदा हेल्मेटको महत्त्वको बारेमा बताएका थिए । यस्तै दौडँदा अपनाउनु पर्ने सावधानीको बारेमा समेत सचेत गराएका थिए । मिनी म्याराथनको सहजिकरणका लागी प्रहरी सहायक निरीक्षक नारायणप्रसाद लुइँटेल र प्रहरी वरिष्ठ हवलदार टेकबहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
top-universal-awarnessखेल सप्ताह अन्तर्गत नै गत मंगलबार धरान ९ स्थित समिट हाईयर सेकेन्डरी स्कुलमा भलिबल खेल सम्पन्न भएको थियो । दुई टिम सहभागी रहेको खेलमा टिम १ ले टिम २ लाई २८-२६, २३-२५ र २५-१८ को सेटमा पराजित गरेको थियो । टिम १ मा विद्यार्थी सुशील साह, प्रशान्त तामाङ, आदर्श लिम्बु, सुलभ शाक्य, नामशारा मगर र एमि राई रहेका थिए । यस्तै, टिम २ मा करुण श्रेष्ठ, साइतो लिम्बु, सञ्जय तामाङ, तिलक दाहाल, इस्मिनी लिम्बु र स्वच्छता योगी रहेका थिए ।
टप युनिभर्सल एकेडेमीमा ब्रिज कोर्ष गरिरहेको विद्यार्थीको सर्वाङ्गीण विकासका लागी हरेक वर्ष अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलहरू गराउँदै आएको एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्रीले जानकारी गराएका थिए । खेल सप्ताह अन्तर्गत अझै बास्केटबल र फुटसल खेल बाँकी रहेको बताउँदै विजेताहरूलाई बिदाइको बेला पुरस्कार समेत वितरण गरिने उनले बताए ।