धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको पाँच पूर्व अध्यक्षहरूले विजय श्रेष्ठ सबैको साझा उम्मेदवार भएको उद्घोष गरेका छन् । 

कार्यक्रममा पूर्व अध्यक्षहरू खजान्चीदास अग्रवाल, विजय डागा, मोहनकाजी शाक्य, राजेन्द्र शाह र सरोज श्रेष्ठले विजय श्रेष्ठ सबैको साझा उम्मेदवार भएको उद्घोष गरेका हुन् ।

विजय श्रेष्ठलाई गठबन्धन उम्मेदवार भनिरहेको बेलामा शनिवार विजय श्रेष्ठ समूहले पत्रकार सम्मेलनको आयोजना गरी यो समूहमा सबै दलमा आस्था राख्ने व्यापारी, व्यवसायी भएकोले कुनै एक दल अथवा गठबन्धन उम्मेदवार नभएको पूर्व अध्यक्ष सरोज श्रेष्ठले बताए । उनले यहाँ सबै दल र समूहका व्यापारी व्यवसायी रहेकाले विजय श्रेष्ठ सबैको साझा उम्मेदवार भएको बताएका हुन् । 

कार्यक्रममा उवासंघको पूर्व वरिष्ठ उपाध्यक्ष राजकुमार राईले विजय श्रेष्ठको समूहलाई जिताउन अपिल गर्दै उद्योगी व्यवसायीहरूको कुरा चुनाव नजिकिँदा मात्रै सुनिने र देखिने गरेकोले यस्तो प्रथाको अन्त्य गर्दै नमुना उद्योग वाणिज्य सङ्घ बनाउन यो समूह लागि पर्ने बताए । 

निर्वाचन परिचालन समितिका सदस्य अनिल अग्रवालले विजय श्रेष्ठको समूहको विजय सुनिश्चित रहेको दाबी गरे । असार २० गते हुन गइरहेको सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा विजय श्रेष्ठ समूहले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ । 

विजय श्रेष्ठ समूह जिताऔँ अभियान समूहले 'आर्थिक क्रान्ति उद्योगी व्यवसायीको समृद्धिका लागि हाम्रो उम्मेदवारी' भन्ने नाराका साथ प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ४१ बुँदे प्रतिबद्धता पत्रमा सुनसरी उद्योग वाणिज्य सङ्घलाई विशुद्ध उद्योगी व्यवसायी र व्यापारीको लगानी सुरक्षा र प्रवर्द्धन गर्ने र तिनीहरूको समस्यालाई समाधान गर्ने एक मात्र छाता संस्थाकोरुपमा स्थापित गरिने देखि उद्योगी व्यापारीलाई दिने सेवा प्रविधिमैत्री बनाउँदै लैजाने र धरान, इटहरी, दुहबी जस्ता सहरमा ट्राफिक व्यवस्थापन राम्रो हुन नसक्दा व्यवसायमा परेको नकारात्मक असरलाई सरोकारवालाहरुसंग सहकार्य गरी व्यवसाय मैत्री ट्राफिक व्यवस्थापनमा पहल गर्ने सम्मका रहेका छन् ।

पत्रकार सम्मेलनमा विजय श्रेष्ठ समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम पनि गरिएको थियो भने कार्यक्रमको सञ्चालन महेन्द्र प्रधानले गरेका थिए ।