धरान : मोरङका छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित धरान र पथरीका दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। 
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ वर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको छ । 
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-११ का ३८ वर्षीय राजु घिमिरेलाई विभिन्न किसिमका लागु औषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक-२० एम्पुल, एभिल-२० एम्पुल, डाईजेल्याब-२० एम्पुल र फेनरागन-२० एम्पुल बरामद गरेको थियो ।पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।