इटहरी : प्रदेश १ मा पहिलो पटक इटहरी चोकमा ट्राफिक लाइट जडान गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण र सडक अपराध नियन्त्रण गर्न ट्राफिक लाइट सँगै सिसी क्यामेरा जडान गरिएको हो । 
प्रदेश सरकारको २६ लाख रुपैयाँको सहयोगमा लाइट जडान भएको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए  । उनका अनुसार इटहरीमा विगत केही वर्षदेखि सवारी चाप बढेकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको थियो ।
मुख्य चोक आसपासको क्षेत्रलाई सवारी जाम न्यूनीकरण गर्न र सडक अपराधबाट बचाउन सिसी क्यामेरा र लाइट प्रभावकारी हुने प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए । हाल पहिलो प्राथमिकतामा इटहरी परेको र केही समयमै दमक, बिर्तामोड, र धरानमा पनि यसै गरी व्यवस्थापन मिलाइने उनको भनाई छ । पैदल यात्रुलाई मध्यनजर गर्दै जेब्रा क्रसको व्यवस्थापनमा समेत ध्यान दिइने उनले प्रस्ट पारे । 
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय सँगको सहकार्यमा लाइटको सिग्नल कन्ट्रोल ट्राफिक कार्यालयबाट गरिने व्यवस्था मिलाइएको छ । उता सिसी क्यामेराको निगरानी इलाका प्रहरी कार्यालय इटहरीले गर्ने भएको छ ।