धरान : मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका-१ का दिपेन यादवको १ बर्षीया छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ भने अपहरणमा संलग्न २ जना पक्राउ परेका छन् । 

साउन २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेकी भन्ने खबर प्राप्त भएसँगै १ नम्बर प्रदेश प्रहरी कार्यालयको रिट समूहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजतलासमा खटिएको थियो ।

१ बर्षीया बालिका अपहरणमा परेको गम्भीर प्रकृतिको घटनालाई तत्काल टेक्निकल विश्लेषणका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न विराटनगर महानगरपालिका–६ का २७ वर्षीय रवीन्द्र कुमार साहको संलग्नता रहेको खुले सँगै साहलाई साउन ३ गते पक्राउ गरी थप अनुसन्धान सुरु भएको थियो । 

अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुले सँगै भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको तथा अपहरणमा संलग्न विराटनगर–५ कि २७ बर्षीया अनु साहलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ परेका दुवै जना बिच घनिष्ठ सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादव सँग समेत चिनजान भएको थियो । दुवै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनी बारम्बार छोरी लिएर आउन कर गरे सँगै साउन २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पूर्व योजना अनुसार केही बहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको तथा बालिकालाई सोही स्थानमा रहेका रवीन्द्र कुमारको मोटरसाइकलमा हालेर दुहबी,भान्टावारी र राजविराज हुँदै  भारतको कुनौली  तर्फ पठाई रवीन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।