धरान : धरान उपमहानगरपालिकामा तोडफोड गरेको आरोपमा धरान प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बराह पीडित सङ्घर्ष समितिका प्रवक्ता प्रदीप बास्तोलालाई  धरान प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनलाई बुधवार मध्यान्ह धरान १६ स्थित आफन्तको घरबाट पक्राउ गरिएको बताइएको छ ।

साउन १६ गते सोमबार बराह पीडित सङ्घर्ष समितिले बराहको सम्पत्ति रोक्काको माग गर्दै धरान उपमहानगरपालिकामा धर्ना दिन आइपुगेकाहरूलाई मेयर साम्पाङले मलाई सोधेर बराहमा पैसा राखेको हो र ? भनेपछि पीडितहरू आक्रोशित भएका थिए । सोही क्रममा मेयर साम्पाङको कार्यकक्षको झ्यालको सिसा फुटाइएको थियो । 

आन्दोलनको अगुवाइ गर्ने दुई जना विरुद्ध मेयर साम्पाङले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीमा बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता प्रदीप बास्तोलाको नाम सहित प्रहरीमा जाहेरी मेयर साम्पाङले दिएका थिए ।

मेयर साम्पाङको जाहेरी पछि बुधवार बास्तोलालाई पक्राउ गरिएको र अर्को एक जनालाई यो समाचार तयार पारुन्जेल सम्म पनि प्रहरीले फेला पार्न नसकेको जनाएको छ ।