धरान : धरानमा सामाजिक सञ्जाल मार्फत जातीय सद्भाव भड्काउने गरी प्रचार गरिएको भन्दै कारबाहीको माग भएको छ। विश्वकर्मा युवा समाज धरानले सामाजिक सद्धभाव भड्काएर गलत प्रचार गर्ने विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाउन माग गरेको हो ।

सामाजिक सञ्जालमा दलित समुदायलाई लक्षित गरी तल्लोस्तरका नकारात्मक टीकाटिप्पणी भएको प्रति समाजले खेद व्यक्त गरिएको छ । आम दलित समुदायको आत्मसम्मानमा ठेस मात्रै पुगेको र समाजलाई विखण्डन तिर लैजाने खतरा बढाएको भन्दै इलाका प्रहरी कार्यालय धरान मार्फत गृह मन्त्रालयमा निवेदन पठाएको छ । 

समाजका अध्यक्ष युवराज शङ्करले कुनै पनि विषयमा दलित समुदायका व्यक्ति जोडिने बित्तिकै सिङ्गो समुदायलाई नै लक्षित गरिनु अपमानजनक भएको बताएका छन् । कुनै पनि जातीय समुदाय वा व्यक्तिको आत्म सम्मानमा ठेस पुग्नेगरी गालीगलौज गर्ने विरुद्ध कडा कारबाहीका माग गरेका छन् । जातीय सद्धभाव भड्काउने विरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुर ऐन २०६८ र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत साइवर अपराधको मुद्दा चलाउनुपर्ने उनको भनाई छ। 
उता इलाका प्रहरी कार्यालय धरानले पनि समाजले उपलब्ध गराएको पत्र गृह मन्त्रालय अन्तरगत शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा पठाएको जनाएको छ । 
बराह ग्रुप अफ कम्पनी अन्तर्गत बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको विषयलाई लिएर धरानमा आन्दोलन जारी छ । आन्दोलनकै क्रममा साउन १५ गते धरान उपमहानगरपालिका कार्यालय तोडफोड भएको थियो । 
तोडफोडमा सहभागी युवाहरूको नाम जोडेर गलत प्रचार गरिएको भन्दै विश्वकर्मा युवा समाजले आपत्ति जनाएको छ । घटना प्रति दु:ख व्यक्त गर्दै समस्याको सहज अवतरणका लागि उपमहानगरपालिकाको कार्यालयलाई अनुरोध गरेको छ ।
biswa-karma-123-samaj
biswakarma-samaj-3