इटहरी : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार सूर्य सङ्ग्रौलाले श्वेतपत्र जारी गर्दै यथास्थितिमा प्रतिष्ठान सुधार गर्न नसकिने बताएका छन् । तिन पृष्ठ लामो श्वेतपत्रमा कोभिड महामारी पछि प्रतिष्ठान आर्थिक रूपमा कमजोर बन्दै गएको उनको निष्कर्ष छ ।  
कार्यभार सम्हालेको एक महिना नपुग्दै उनले प्रतिष्ठानको आर्थिक अवस्था र चुनौती बारे प्रस्ट पारेका हुन् । विगतमा भारत सरकारले सहयोग रोकेसँगै नेपाल सरकारबाट प्राप्त हुँदै गएको अनुदानमा कमी आएको उल्लेख गरेका छन् । जसको कारण आर्थिक रूपमा कमजोर बन्दै गएको प्रतिष्ठानलाई कोभिड महामारीले झनै थला परेको उनले बताएका छन् । यस्तो विषम परिस्थितिमा पनि नेपाल सरकारले कुनै सहयोग नगरेकोमा चिन्ता व्यक्त गर्दै उनले समयानुकूल शिक्षक तथा कर्मचारीहरूको तलब तथा सुविधा वृद्धि गर्नुपर्ने अवस्थाले गर्दा प्रतिष्ठान थला परेको श्वेत पत्रमा उल्लेख गरेका छन् ।
कोभिड महामारीको कारण बिरामीको चाप घटेको र एक शैक्षिक सत्रमा विद्यार्थी भर्ना नै हुन नसकेको कारण पनि आम्दानी  १ अर्ब ४१ करोड बढीले गिरावट आएको उनले बताए । जसको कारण अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवा बाहेक शिक्षक तथा कर्मचारीहरूले पाइरहेको सुविधालाई स्थगित गर्नु परेको अवगत गराएका छन् । 
बिपी प्रतिष्ठान नेपाल सरकार र भारतीय सरकारको नमुना परियोजनाको रूपमा १९९३ मा सुरु भएको हो । सुरुमा भारत सरकारले जनशक्ति र आर्थिक सहयोग गरेको र नेपाल सरकारले पनि यथेष्ट बजेट विनियोजन गर्दै आएको थियो । त्यसैको बलमा चिकित्सक तथा कर्मचारीलाई नेपाल सरकारले तोकेभन्दा बढी तलब भत्ता दिँदै आएको थियो । 
तर शैक्षिक सत्र २०१९ देखी चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी शैक्षिक कार्यक्रमको सिट सङ्ख्या तथा शुल्क समेत घटाएको कारण प्रतिष्ठानको आम्दानी एक्कासि कम भएको बताइएको छ । स्वास्थ्य बिमा ऐन जारी भई स्वास्थ्य बिमा कार्यक्रम लागू भए पश्चात् नियमित रूपमा शोधभर्ना नभएको कारण पनि प्रतिष्ठान थला परेको रजिष्ट्राले उल्लेख गरेका छन् । 
दिनानुदिन विभिन्न पत्र पत्रिकामा नकारात्मक तथा भ्रामक समाचार सम्प्रेषण हुने गरेकोले प्रतिष्ठान प्रति वफादार शिक्षक कर्मचारीहरूलाई मर्माहत पारेको उनले बताए । प्रतिष्ठानसँग सम्बन्धित समाचारहरूलाई सत्य र तथ्यको आधारमा पुस्ट्याइँ गरेर मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् । प्रतिष्ठानको वर्तमान अवस्था जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको बताउँदै उनले सबैको सहयोगले यसलाई सुधार्न सकिने विश्वास व्यक्त गरेका छन् ।
 श्वेतपत्र :