काठमाडौँ : हङकङ नेपाली महासङ्घका निवर्तमान अध्यक्ष टङ्क राना ‘नेशनल इन्टरटेनमेन्ट समाजसेवी सम्मान २०७९’ बाट सम्मानित भएका छन् । विश्वव्यापी कोरोना महामारीका बेला एक बर्सअघि नेपालका ७७ वटै जिल्लामा करिब ५ करोड रुपैयाँ बराबरको २ सय थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको भन्दै रानालाई समाजसेवी सम्मान प्रदान गरिएका हो । 
काठमाण्डौको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा गत मंगलबार आयोजित समारोहमा हङकङ नेपाली महासङ्घका निवर्तमान अध्यक्ष रानालाई पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र प्रदान गरेका थिए । नेपाली कला संस्कृतिसँगै फिल्म, सङ्गीत क्षेत्रका कलाकारहरूलाई उत्कृष्टताको आधारमा सम्मान र पुरस्कार प्रदान गर्दै आएको नेशनल इन्टरटेन्मेन्ट अवार्ड (एनइए) ले नेपाली समुदायकालागि गरेको योगदानको कदर गर्दै रानालाई नेश्नल इन्टरटेनमेन्ट समाजसेवी सम्मान प्रदान गरेको आयोजक अर्वाडका अध्यक्ष सूर्य चन्द्रले बताए । 
रानाले आफ्नो थांतबास धरान भए पनि हङकङलाई कर्मथलो बनाएर बसेपछि सकेसम्म सामाजिक क्षेत्रमा सक्रिय भएर काम गर्दा नेपाली दाजुभाइले सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गरे । उनले हङकङमै बसेर जीविका चलाउँदै आए पनि सकेसम्मको सहयोग जारी राख्ने बताए । उनले भने, 'स्वदेशमा पाएको यो सम्मानले मलाई थप जिम्मेवारी दिएको छ ।'  
अवार्डकी संयोजक सविता पोखरेलका अनुसार रानाले कोरोना महामारीमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर वितरण गर्नुका साथै धरानमा घण्टाघर निर्माणमा अग्रणी भूमिका खेलेको, धरानमै आधुनिक प्रहरी हिरासत भवन निर्माणमा सहयोग गरेको, धरान रङ्गशाला पुन निर्माणमा सहयोग भूमिका खेलेको, धरान-४ स्थित बुढी मोरङको थुम्की डाँडामा थाउजेण्ड विग बुद्ध निर्माणकालागि दिएको योगदानको कदर गर्दै सम्मान गरिएको बताइन । 
रानालाई यसअघि हङकङमा बस्ने नेपाली समुदायलाई कोरोना महामारीमा सहयोग गरेको भन्दै द हङकङ स्पेसल एडमिनिस्ट्रेशन रिजन अफ द पिपल्स रिपब्लिक अफ चाइनाले 'डेडिकेटेड पब्लिक एण्ड कम्युनिटी सर्भिस अवार्ड-२०२२ ले पुरस्कृत गरेको थियो ।