धरान : हङकङ नेपाली महासङ्घले सोअर्स एक्सन सँगको सहकार्यमा दोस्रो चरणमा पठाएको सय थान अक्सिजन कन्सन्ट्रेटर पूर्वका विभिन्न जिल्लाहरूका स्वास्थ्य चौकीहरूमा निःशुल्क वितरण गरिएको छ। 

महासङ्घका अध्यक्ष टङ्क रानाका अनुसार दोस्रो चरणमा प्रदेश १ को ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघु स्वास्थ्य चौकी र फक्ताङलुङ गाउँपालिकाको सिंवा स्वास्थ्य चौकी, पाँचथरको ओयाम स्वास्थ्य चौकी र अमरपुर स्वास्थ्य चौकी, इलामको फिक्कल प्राथमिक स्वास्थ्य चौकी र सांखेजुङ स्वास्थ्य चौकीमा एक/एक थान अक्सिजन कन्सन्ट्रेटर निःशुल्क वितरण गरिएको हो।

उनका अनुसार धनकुटा, सङ्खुवासभा, तेह्रथुमलगायतका जिल्लाका विकट स्वास्थ्य चौकीहरूमा पनि वितरण सम्पन्न भइसकेको छ। महासङ्घका अध्यक्ष रानाले सोचेअनुसार नै वितरण अभियान जारी भइरहेको बताए। 

नेपालमा कोरोना महामारीको दोस्रो लहर चलेको बेला अक्सिजन, खोप र पिपिई (व्यक्तिगत सुरक्षाका लागि चाहिने सामाग्री) अभाव भएको थाहा पाएपछि महासङ्घले ‘हेल्प नेपाल–फाइट कोभिड १९ अभियान चलाएर हङकङ स्थित गैरसरकारी संस्था सोअर्स एक्सनमार्फत नेपालीहरूका लागि २ सय थान अक्सिजन कन्सन्ट्रेटर जुटाएको हो।

उनले पहिलो चरणमा सुदूर पश्चिम, कणाली, लुम्बिनी र वाग्मती प्रदेशका विकट स्थानीय तहका स्वास्थ्य केन्द्र छनौट गरेर सय थान वितरण भइसकेपछि पूर्वका प्रदेश १ का विभिन्न जिल्लामा अक्सिजन कन्सन्ट्रेटर वितरण भइरहेको बताए । पहिलो र दोस्रो चरणमा पठाइएका अक्सिजन कन्सन्ट्रेटरको कुल मूल्य नेपालमा करिब ५ करोड ५० लाख रुपैयाँ भन्दा बढी पर्छ।

उनले भने, ‘प्रत्येक जिल्लामा रहेका स्वास्थ्य चौकीहरू मध्ये आवश्यकता अनुसार दुई स्वास्थ्य चौकीमा एकएक थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिरहेका छौँ । ती मध्ये पनि अति विकट स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र हेल्थ पोस्टहरूमा दिँदै छौँ । जहाँ कोरोनाको तेस्रो लहरको नयाँ भेरिएण्टबाट ग्रसित सङ्क्रमितहरूलाई लक्षित गरेका छौँ ।’

उनले एउटै अक्सिजन कन्सन्ट्रेटर करिब ३० किलोको हुने भएकाले विकट पहाडी भेगका स्वास्थ्य केन्द्रमा पुर्‍याउन कतिपय अवस्थामा कठिन भएको पनि बताए । उनले भने, ‘अक्सिजन कन्सन्ट्रेटर वितरणको बेला बर्षायाम पनि परेकाले झरी पानी हिलाम्मे बाटो, दुरदराजका गाउँमा पुग्न स्वयंसेवक दललाई कठिनाइ पनि भोग्नु परेको छ।’

अभियानका संयोजक समेत रहेकी महासङ्घका सल्लाहकार तथा निवर्तमान अध्यक्ष रिता गुरुङका अनुसार अव सुनसरी, मोरङ, भोजपुर, उदयपुर, सोलुखुम्बुका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा वितरण गर्न बाँकी छ । उनले भनिन्, ‘सोअर्स एक्सनले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेपछि त्यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा तोकिएको प्राथमिक स्वास्थ्य केन्द्रहरूमा वितरण गर्ने काम जारी छ । हाम्रो मुख्य उद्देश्य नेपालका विकट दुर्गम र पिछडिएको स्वास्थ्य केन्द्रमा पुर्‍याएर कोरोना सङ्क्रमणले अक्सिजन अभाव हुन पुगेकाहरूलाई बचाउने हो ।’

महासङ्घका पूर्व अध्यक्ष तथा संरक्षक प्रदीप थापाले कोरोना महामारीको बेला नेपाली समुदायको ज्यान बचाउन अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको बताए । उनले भने, ‘सहरी क्षेत्रका संक्रमतिहरु त अक्सिजन अभावमा छटपटाइरहेका बेला विकट गाउँका संक्रमतिहरुको हालत सम्झेर अक्सिजन कन्सन्ट्रेटर विकट गाउँकै स्वास्थ्य केन्द्रमा वितरण गर्न पठाएका हौँ ।’

महासङ्घले पठाएका अक्सिजन कन्सन्ट्रेटर नेपालका विभिन्न जिल्लामा वितरण गर्ने संयोजक गरिरहेका आकाश उप्रेतीका अनुसार कोरोनाको दोस्रो लहरका बिच फेला परेका सङ्क्रमितहरूमा सबै डेल्टा भेरिअन्ट भएको पुस्टी भएकाले तेस्रो लहर झन् फैलने त्रासमा गाउँलेहरू बसेका छन् । खोपको अभाव भइरहेको बेला कम्तीमा अक्सिजन कन्सन्ट्रेटर पुर्‍याउँदा स्थानीय समुदायमा बाच्ने आशा पलाएको छ । उनले भने, ‘स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर वितरण भएसँगै हामीसँग भएका प्रविधिले स्वास्थ्य चौकीमा रहेका स्वास्थ्यकर्मीलाई त्यसको सञ्चालन र उपयोगबारे पनि सिकाउँदै आएका छौँ ।'