इटहरी : लामो समयदेखि सार्वजनिक शौचालयको अभाव झेलिरहेको इटहरी बजारमा सुविधा सम्पन्न शौचालय निर्माण हुने भएको छ । आइतबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चोकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका हुन् । बालमैत्री र अपाङ्ग मैत्री शौचालय निर्माण पछि इटहरीको बजारको आकर्षण बढ्ने अनुमान गरिएको छ । 
इटहरी बजार आउने आगन्तुक, यात्रु, तथा सेवाग्राहीलाई समस्या भएको भन्दै शौचालय निर्माण गर्न लागिएको पौडेलले बताए । इटहरी उपमहानगरपालिका भए पनि जनताले त्यही स्तरको सेवा सुविधा नपाएको उनको भनाई थियो । आफ्नो कार्यकालमा जनतालाई महानगर स्तरको सेवा सुविधा दिने उनले बाचा गरेका छन् । 
शिलान्यास कार्यक्रममा बोल्दै ६ नम्बर वडाका वडाध्यक्ष दिवस पोखरेलले केही दिनमै विशाल बजार भित्रको शौचालयलाई सार्वजनिक प्रयोजनको लागी खुल्ला गरिने बताए । त्यस सँगै पूर्व लाइनको जुट विकाश चौक आसपास पनि नयाँ शौचालय निर्माण कार्य सुरु हुने उनले उल्लेख गरे । उपमहानगरपालिका सरसफाइ तथा सौन्दर्यीकरणमा काम गरिरहेका अवस्थामा स्थानीयले समेत साथ दिनुपर्ने उनको भनाई थियो । विभिन्न प्लास्टिकका बोतल, तथा अन्य फोहोरहरू डस्टविनमा राखेर गाडी सम्म पुर्याउने काममा सहयोग गर्न आग्रह गरे । 
३५ लाखको लागतमा बन्ने शौचालय उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको हो । इटहरी-६ का व्यवसायी ईश्वरी पराजुलीको अध्यक्षतामा बनेको समितिले डेढ महिना भित्र शौचालय निर्माण गर्ने भएको छ ।
toilet-hemkarna-itahari