धरान : प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बुधवारदेखि रामधुनिमा सञ्चालन भएको ३ दिवसीय आधारभूत पत्रकारिता तथा उद्घोषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ।
स्थानिय लगौना चोक स्थित सेन्टरको सम्पर्क कार्यालयको हलमा सम्पन्न भएको तालिममा रामधुनिका विभिन्न वडा र कलेजबाट २८ जना प्रशिक्षार्थिहरुले सहभागिता जनाएको सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए। पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान र उद्घोषणकलाको माध्यमबाट सहभागीहरूको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए। 
तालिम अवधिभर वरिष्ठ पत्रकार भवानी बराल, सेन्टरका केन्द्रीय सदस्य श्रीसिसा राई र सेन्टर जिल्ला अध्यक्ष कार्कीले  प्रशिक्षण दिए। तालिममा पत्रकारिता के हो, समाचार भनेको के हो, समाचारका तत्त्वहरू के-के हुन, समाचार कसरी लेख्ने, आत्मविश्वास कसरी बढाउने, माइक्रोफोनको प्रयोग कसरी गर्ने, ठुलो मासको अगाडि गएर कसरी बोल्ने लगायतका कुराहरू सहभागीहरूलाई सिकाइएको सेन्टर सुनसरीले जनाएको छ।
तालिमबाट समाचार भनेको के हो?, समाचार कसरी लेख्ने, पत्रकारिता भनेको के हो? भन्नेबारे थाहा भएको सहभागी कृष्ण बहादुर विष्टले  बताए। त्यस्तै पत्रकारिताको बारेमा आधारभूत कुरा सिक्न पाएको अर्का सहभागी कुनिता राईले अनुभव सुनाइन।अर्का सहभागी मेनुका दाहालले तालिमबाट अगाडि गएर बोल्नको लागि आत्मविश्वास बढेको बताइन।
सहभागीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सेन्टरका केन्द्रीय उपमहासचिव राजन केडि, केन्द्रीय सदस्य अर्जुन शर्मा, नेकपा माओवादी केन्द्र १ न. प्रदेशका उपाध्यक्ष शिव कुमार डाँगी, रामधुनीका नगर अध्यक्ष बलराम चौलागाई र अखिल क्रान्तिकारीका विद्यार्थी नेता अर्जुन पौडेलले प्रमाण-पत्र वितरण गरेका थिए ।