सुनसरी : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पूर्ण क्षमताको अस्पताल फार्मेसी सेवा सुरु गरेको छ । बिहीबार एक कार्यक्रम गरी प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले उद्घाटन गरेका हुन् । ५ वर्ष अघि निजी मेडिकललाई ठेक्कामा चलाउन दिएको फार्मेसी बन्द थियो । अहिले प्रतिष्ठान आफैँले फार्मेसी सञ्चालन गरेपछि बिरामीलाई बाहिरका निजी मेडिकल जाने बाध्यता हट्ने प्रतिष्ठानको भनाई छ। 
उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति गिरीले लामो समयको पखाई पछि फार्मेसी सेवा सञ्चालन गर्न प्रतिष्ठान सफल भएको बताए । उनले फार्मेसी अस्पतालको मेरुदण्ड भएको बताउँदै आर्थिक सूचकमा समेत टेवा पुर्याउने बताए । उनले भने “फार्मेसीले जनतालाई सस्तो, सरल सेवा दिन्छ, म्याराथन दौडमा लागेको छ, यसले संस्थाको आर्थिक पाटोमा समेत सहयोग गर्छ ।” 
फार्मेसी पूर्ण रूपमा सञ्चालन आएसगैं दैनिक एक करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । यस्तै प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक डाक्टर सूर्य प्रसाद सङ्ग्रौलाले प्रतिष्ठानका कमीकमजोरीलाई सुधार गर्दै फार्मेसीलाई वैज्ञानिक रूपमा अघि बढाउनु पर्ने बताए । उनले फार्मेसी सेवा सञ्चालनमा आएसँगै देखिएका आर्थिक सङ्कट टार्न मुख्य भूमिका खेल्ने दाबी गरे । 
अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले गत वर्षको कार्तिक महिनादेखि एक समिति गठन भएर फार्मेसी सञ्चालनको पहल सुरु भएको बताए । पहिलो महिना ७४ हजारको औषधी बिक्री भएको बताउँदै अहिले एक महिनामा १ करोड ४४ लाख हाराहारीमा बिक्री पुगेको पनि बताए । 
उनले अब औषधी बिरामीको बेडमा नै पुर्‍याइदिने लक्ष्य लिएर गृहकार्य भइरहेको पनि उनले बताए । तर बिमा बापतको बिरामीले पाउने औषधी फार्मेसीबाट दिन नसकिने निर्देशक प्रसादले बताए । "बिमा कार्यक्रमबाट बापतको पैसा आएको छैन । अहिले पनि हाम्रो २५ करोड पैसा पाउन बाँकी छ । यसले अहिले नै बिमा कार्यक्रम लागु गरियो भने फार्मेसी सेवा झन् सङ्कट पर्छ ।” निर्देशक प्रसादले भने ‘बिमा कार्यक्रमको पैसा लगातार आउने सुनिश्चितता भए लागूगर्छौ तर अहिलेको अवस्थामा बिमा कार्यक्रम लागू गर्न सक्दैनौँ ।’
BP-pharmacy-2