धरान : कोरोनाको दोस्रो लहरमा नेपालमा ७७ वटै  जिल्लामा सङ्क्रमितको ज्यान बचाउन अक्सिजन कन्सन्ट्रेटर वितरण गर्न मुख्य भूमिका खेलेका टङ्क रानालाई नेपाल सरकारले ‘समाजसेवा रत्न’ बाट विभूषित गर्ने भएको छ । राना ग्रामीण आवाज फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष पनि हुन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राणासँगै देश विदेशमा रहेका ९ सय ९८ जनालाई विशेष मानपदवी अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् । सरकारले हरेक वर्ष संविधान दिवसमा विभूषण घोषणा गरेर नेपाली नयाबर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गर्ने चलन छ । 
हङकङ नेपाली महासङ्घका निवर्तमान अध्यक्ष राना धरान स्थायी घर  भए पनि पछिल्लो दुई दशक देखि हङकङमा बस्दै आएका छन् । समाजसेवासँगै टिना ग्लोबल लिमिटेड हङकङका निर्देशकसमेत रहेका रानालाई विदेशमा बसेर पनि नेपाली मातृभूमिको सेवामा तल्लीन रहेको भन्दै समाज सेवा रत्नबाट विभूषित गर्ने सूचीमा रानाको नाम सिफारिस भएको हो । 
उनले महासङ्घको नेतृत्व सम्हालेका बेला नेपालमा कोभिड नियन्त्रण तथा बिरामीहरूको उपचार सहयोगार्थ हङकङका स्थानिय चाइनिज दाता, विभिन्न नेपाली सङ्घसंस्था तथा समाजसेवी व्यक्तिहरूको सहयोगमा देशको ७७ वटै जिल्लामा करिब ५ करोड मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर लगायतका मेडिकल उपकरण, मास्क तथा औषधीहरू वितरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पछिल्लो समयमा उनले नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र आर्थिक विकास र सीप प्रदान गर्ने उद्देश्यले ग्रामीण आवाज फाउण्डेशन सामाजिक संस्था दर्ता गरेर समाज सेवामा सक्रिय रहेका छन् । उनले उक्त संस्थामार्फत हालै मात्र दृष्टिविहीन सञ्चारकर्मी रमेश प्रसाईँका दुई नानीहरूलाई पढाउने अभिभावकत्व बहन गरेछन् ।  
रानालाई यसअघि हङकङमा बस्ने नेपाली समुदायलाई कोरोना महामारीमा सहयोग गरेको भन्दै द हङकङ स्पेसल एडमिनिस्ट्रेशन रिजन अफ द पिपल्स रिपब्लिक अफ चाइनाले डेडिकेटेड पब्लिक एण्ड कम्युनिटी सर्भिस अवार्ड २०२२ ले पुरस्कृत गरेको थियो ।