धरान : युनिक धरान स्नुकर च्याम्पियनको उपाधि धरान-२ मा रहेको चिमल स्नुकरका वालकुमार लिम्बुले चुमेका छन् ।

उनले वेस्ट स्नुकर हाउस धरान-१९ का गणेश गुरुङलाई पराजित गर्दै उपाधि माथि कब्जा जमाएका हुन । वेस्ट अफ इलेभेन खेलाइएको फाइनल खेल अत्यन्त्य प्रतिस्पर्धात्मक भएको थियो । दुवैले बराबर ५-५ खेल जिते पछि अन्तिम वेस्ट अफ इलेभेन खेलमा गुरुङलाई पराजित गर्दै लिम्बु विजयी भएका हुन । बिहान ११ बजे देखि सुरु भएको खेल साँझ ७ बजे मात्र सकिएको थियो ।

विजेता लिम्बुले नगद तिस हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद २० हजार, ट्रफि र मेडल हात पारे । व्यक्तिगत उपाधि तर्फ धरान-१२ का दोर्जे पाख्रिन हाइएस्ट ब्रेकर घोषित भए । उनले ३८ अङ्क जोडेर हाइएस्ट ब्रेकर उपाधि जित्न सफल भएका हुन ।

उनले उपाधि सँगै नगद दश हजार रुपैयाँ र ट्रफि प्राप्त गरे । विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान-५ का निर्वतमान वडाध्यक्ष सन्तोष लिम्बु र कार्यक्रमका सभाध्यक्ष तथा आयोजक युनिक पुल हाउस तथा खाजा घरका सञ्चालक चन्द्र लिम्बुले पुरस्कार वितरण गरेका थिए ।

धरान-५ देउराली स्थित युनिक पुल हाउस तथा खाजा घरको आयोजनामा भदौ २३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा धरान भरिका ५२ जना खेलाडीहरूले सहभागिता जनाएका थिए ।