धरान : अन्तर्राष्ट्रिय ख्याती प्राप्त एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्टको अध्यापन गराइरहेको धरानको एकमात्र स्मार्ट कलेज प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका २ विद्यार्थी ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ बाट सुशोभित भएका छन् ।

प्राइम भिजनमा अध्ययनरत विद्यार्थी पेमदिकी तामाङ र सन्देश पाल्पाली 'स्टुडेन्ट एम्बेसेडर अवार्ड’ बाट सम्मानित भएका हुन् । विद्यार्थीको व्यक्तित्व, व्यवहार, शैक्षिक क्रियाकलाप, बौद्धिक क्षमता, भाषाशैली र विद्यालयको उपस्थितिका आधारमा उनीहरुलाई सम्मानित गरिएको हो ।

विद्यार्थीले 'एलसीसीआई ग्लोबल क्वालिफिकेसन’ र 'एसक्यूए’ द्वारा प्रदान गरिने एसक्यूए एम्बेसेडर सर्टिफिकेट सहित नगद पुरस्कार, गिफ्ट भौचर, एलसीसीआई जीक्यू र एसक्यूए एम्बेसेडर लेभल पिन प्राप्त गरेका छन् । 

विद्यार्थीको क्षमता परीक्षणका आधारमा अवार्ड प्रदान गरिएको हो । सर्टिफाइइड सफ्ट स्किल ट्रेनर सुजिता बानिया, मेरिट होटल काठमाडौंका क्लस्टर डिरेक्टर रुपेश श्रेष्ठ र ब्रिटिश गोर्खा काउन्सिल नेपालका एचआर हेड शिशिरकुमार पाण्डे निर्णायकका रुपमा रहेका थिए ।

प्राइम भिजनका पेमदिकी र सन्देशसँगै ईईकम बिर्तामोडकी रिया योङहाङ, केआईएचएम ललितपुरकी दिप्ती राई र आरआईसीएचएम चितवनका सन्जय परियारलाई समेत स्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्रदान गरिएको थियो ।

हरेक वर्ष एलसीसीआई र एसक्यूए मातहतमा रहेका नेपालभरिका कलेजका विद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जनालाई स्टुडेन्ट एम्बेसेडर अवार्ड प्रदान गरिंदै आएको प्राइम भिजनका सिईओ अविशेक श्रेष्ठले जानकारी दिए ।