काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ ।
निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ-आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ ।
७७ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ३ सय ३० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले आइतबार मनोनयन दर्ता गर्नेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा झैँ दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार मनोनयन शान्तिपूर्ण र उत्साहजनक हुने विश्वास रहेको बताए ।
आयोगले उम्मेदवार मनोनयन दर्ताको दिन सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह समेत गरेको छ । त्यसैगरी आयोगले सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरूलाई मनोनयन दर्ता कार्यक्रमलाई व्यवस्थित, मर्यादित र भयरहित ढङ्गले अघि बढाउन आयोगले निर्देशन दिएको छ ।
यता, राजनैतिक दलहरूले निर्वाचन मनोनयन दर्ताका लागि दुई दिनको समय माग गरेकोमा निर्वाचन आयोगले भने दुई दिनको समय दिन नसकिने स्पष्ट पारेको छ ।
देशभर वर्षा, बाढी पहिरो र डुबानले समस्या हुने भन्दै राजनैतिक दलहरूले मनोनयन दर्ताको समय दुई दिनका लागि माग गरेकोमा निर्वाचनले दुई दिनको समय दिन अस्वीकार गरेको छ ।