धरान :  प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृह जिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आज उम्मेदवारी दर्ता गरेका छन् । उनले सत्तारुढ गठबन्धन दलका नेकपा एसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन ।
निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम मुख्यमन्त्री राईले आज दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गरेका हुन । उनले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट मनोनयन पत्र दर्ता गरेका हुन । मुख्यमन्त्री राई उक्त पार्टीको सचिव पनि हुन । 
भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले पनि उम्मेदवारी दर्ता गरेका छन् । बाँकी एक प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसका विनोद बान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन् । 
उम्मेदवारी दर्ता गर्ने क्रममा मुख्यमन्त्री राईले फेरि पनि अराजकता, फेरि पनि प्रतिगमनको बाटो समाएका सङ्घीय लोकतन्त्र र गणतन्त्र विरोधीलाई परास्त गरी प्रतिगमनविरुद्ध बनेको गठबन्धनलाई नेपाली जनताले मङ्सिर ४ गते अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।